संखुवासभा । जिल्लाको भोटखोला गाउँपालिकामा मंगलबार राति अविरल बर्षासँगै आएको पहिरोले ६ घरमा क्षति पुर्याएको छ ।
भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मंगलबार राति करिब ८ बजे तिर ठूलो ढिस्को सहित ढुङ्गा खसेर एक घर पूर्ण क्षति, एक घर आंशिक र चार घर पूर्ण बिस्थापित भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । उनको अनुसार, स्थानीय लिलाबहादुर श्रेष्ठको ७ जना, लाप्साङ शेर्पाको ४ जना, मुस्कान शेर्पाको ५ जना र सुब्बा श्रेष्ठको ३ जनाको परिवार बिस्थापित भएका छन् भने रन्जना श्रेष्ठको घरमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
बिस्थापित परिवारलाई स्थानीय युवाहरु, स्याक्शिला, गोला प्रहरी चौकीको टिम र गाउँपालिका अध्यक्षको टिमले अनुगमन गरि सुरक्षित स्थानमा अस्थायी पुनस्र्थापना गरेको अध्यक्ष भोटेले जनाएको छ ।
बर्खामा समय भएकाले भोटखोला लगायत जिल्लाको विभिन्न ठाउँमा बर्षात् भइरहेको हुदाँ अझैपनि ठाउँ–ठाउँमा जोखिम बढेको छ । सचेत भएर यात्रा गर्न र सचेत भएर रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।