पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल मध्ये एक हो संखुवासभाको मनकामना । मनको इच्छा आकाँक्षा र मनोकामना देवी भगवतीले पूरा गर्ने भएकाले मनोकामनाबाट अप्रभंस भएर मनकामना भनिएको हो । मनकामना माता देवी भगवतीको मन्दिरको स्थापना वि.सं १९३२ सालमा स्थापना भएको भन्ने इतिहास छ ।
यो मनकामना मातालाई धार्मिक तथा पर्यटकीय गन्तब्य तीर्थस्थलको रुपमा विकास गर्न मनकामनाधाम भनेर भौतिक पूर्वाधार विकास लगायत यसको महिमा बढाउने काम भइरहेको छ । मनकामनाधाममा विभिन्न ठाउँहरुबाट बृद्धबृद्धाहरु आई जीवन यापन गरिरहेका छन् भने गुरुकुल समेत संचालनमा रहेको छ । गत साउन १ गतेदेखि मनकामनाधाममा निःशुल्क भोजन समेत शुरुवात गरिएको छ । पूर्वपत्रकार तथा समाजसेवी बलराम थापाको संयोजकत्वमा गत साउन एक महिना पुराण सम्पन्न गरि निःशुल्क भोजन शुरुवात गरिएको छ । यो निःशुल्क भोजन अखण्ड बर्षौ सम्म निरन्तर रहने उनको भनाइ छ ।
मनकामनाको विकासमा स्थानीय, प्रदेश देखि संघीय सरकारबाट समेत बजेट ब्यबस्थापन हुर्दै आएको छ । खाँदबारी नगरपालिकाले यसअघि नै मनकामनाधामको डिपिआर गुरुयोजना निर्माण गरिसकेको छ । सोही गुरुयोजना अनुरुप नै काम भइरहेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया बताउँछन् । उनले मनकामनाधामको विकासमा आफू र नगरपालिका लागि रहेको बताउँछन् ।
मनकामनाधामको विकासमा सबै लागि परेका छन् । त्यसपछि समाजसेवी सुजनकुमार श्रेष्ठको संयोजकत्वमा रहेको समितिले करिब २० करोड रुपैयाको लागतमा विशाल मन्दिर बनाउने त्यसले धार्मिक र पर्यटकीय दुवैको काम गर्ने उद्धेश्य रहेको छ । यसरी स्वच्छ मनले मनकामनाधामको श्रीबृद्धिको लागि थुप्रै मानिसहरुले काम गरिरहेका छन्—त्यसमध्ये छुटाउन नै नहुने अर्को नाम हो खाँदबारी–४ निवासी स्वर्गीय खेमराज गुरुङ । सानैदेखि गीत संगीतमा लगाव रहेका खेमराज कलिलै उमेरमा जेल परे । जेलमा नै उनले संगीतलाई निखारे । त्यसपछि जेलबाट निस्केपछि २०५८ सालमा जीवन भाग—२ भन्ने एल्बम निकाले । त्यो एल्बममा समावेश रहेको ‘एकादशी बजारैमा, फन्के रोटी थालैमा, वारि जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना...’ बोलको गीले संसार चिनायो ।
अमरस्रष्टा स्वर्गीय गायक खेमराज गुरुङको यही गीतले पूर्वकै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामनाधामलाई संसारभर चिनाएको हो । अहिले पनि बर्सेनि हरिबोधनी एकादशीको समयमा यहाँ मेला लाग्ने गर्दछ । मेला भर्न टाढा–टाढाबाट तीर्थालु भक्तजनहरु आउने भएकाले मेला दुईसम्म चल्ने गर्दछ । मनकामनामा मेला भर्न, पूजा पाठ गर्न र युवा जोस देखाउँदै बजारमा रमाइलो गर्न वृद्धवृद्धा देखि युवायुवतीहरूको घुइँचो लाग्ने गरेको पाइन्छ ।
खेमराज गुरुङले संसार छोडेर गएपनि खेमराज गुरुङ स्मृति साँझ भने बर्सेनि एकादशी मेलामा आयोजना हुर्दै आएको छ । मनकामनाधाममा अमरस्रष्टा खेमराज गुरुङको सालिक राख्ने खाँदबारी नगरपालिकाले निर्णय गरेको छ । यसैबर्ष सालिक स्थापना हुने मेयर महेश थपलियाले सार्वजनिक कार्यक्रममा उद्घोष गरेका छन् । मनकामनाधामलाई अन्तराष्ट्रियस्तर पहिचान पु¥याउने खेमराज गुरुङको सालिक निर्माण हुदाँ उनको आत्माले पनि शान्ति पाउनेछ । त्यसैले यस्तो पुण्य काम ढिलाई नगरौं । मनकामनाधामलाई धार्मिक तथा पर्यटकीय गन्तब्य बनाई दैनिक हजारौं तीर्थालु भक्तजनहरु आउने वातावरण बनाउन सबै लागि परौं । यसले संखुवासभाको आर्थिक गतिविधीमा समेत टेवा पुग्नेछ ।