यूनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल एउटा गैरसरकारी संस्था हो । यो संस्थाको केन्द्रीय कार्यालय संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको छ । यस संस्थाले ग्रामीण समुदायका जीर्ण र समस्याग्रस्त रहेको सामुदायिक विद्यालयमा स्थानीय सरकारसँग साझेदारी गरि लगानी गरि गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । हालसम्म यस संस्थाले संखुवासभा, गुल्मी र ताप्लेजुङ गरि ३ जिल्लामा ७६ वटा विद्यालय निर्माण गरिसकेको छ । यो साता युडब्लुएस नेपालले गरिरहेको गतिविधीका बारेमा संस्थाको शिक्षा संयोजक आशिष अधिकारीसँग संखुवासभा एक्सप्रेस साप्ताहिकका सम्पादक नवीन गुरुङले गरिएको कुराकानी सार अंश :
१. सरलाई कार्यक्रममा स्वागत छ ?
—धन्यवाद ।
२. यूनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल कस्तो संस्था हो ? यो संस्थाले कस्तो–कस्तो कामहरु गर्ने गर्दछ, जानकारी गराईदिनोस न ?
—यूनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल एउटा शिक्षाको क्षेत्रका काम गर्दै आइरहेको गैरनाफामुलक संस्था हो । यो संस्था सन् २०१७ मा दर्ता भई संचालनमा आएको हो । हामी नेपालको विभिन्न ठाउँको ग्रामीण समुदायलाई लक्षित गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्दै आइरहेका छौ । हाम्रो उद्धेश्य पनि ग्रामीण समुदायमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नु नै हो ।
३. शैक्षिक गुणस्तरको क्षेत्रमा काम गरिरहनु भएको छ ? काँहा–काँहा के कस्तो कामहरु गरिरहनु भएको छ ? अनि काम गर्ने मोडालिटी चाँही कस्तो छ ?
—अहिले सम्म हामीले संखुवासभा जिल्लाको १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा कार्यक्रम संचालन गरिरहेका छौ । त्यसपछि गुल्मी र ताप्लेजुङ जिल्लामा कार्यक्रम संचालन गरिरहेका छौं । खाँस गरि हामी ग्रामीण समुदायका सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नका लागि काम गछौं । गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नका लागि विद्यालयको भौतिक संरचना परिवर्तन, कुनै पनि विद्यार्थीलाई विद्यालय आउँ–आउँ जस्तो लाग्ने शैक्षिक वातावरण बनाउछौं, शिक्षकको कार्यतालिका परिवर्तन गछौं । त्यहाँको अवस्था, त्यहाँ शिक्षक, अभिभावकहरु सबैसँग बसेर छलफल गरेर अगाडी बढ्छौं र हाम्रो कार्यक्रम त्यहाँ लागु गछौै । समुदायको माग र आवश्यकताको आधारमा हामी विद्यालय छनौट गरि स्थानीय सरकारसँग समन्वय गरेर मात्रै अगाडी बढ्छौं । हामीले स्थलगत रुपमा अध्ययन र अवलोकन गरेर मात्रै विद्यालय फाइनल गछौं । विद्यालयको भौतिक संरचनाहरु हामी आफैले ३ महिना भित्र तयार छौं, त्यहाँ चाहिने काठ, बास, ढुङ्गा, गिटी, बालुवा लगायतका स्थानीय चीजहरु विद्यालयले उपलब्ध गराउनुपर्छ । हामी स्थानीय सरकारसँग ५०÷५० प्रतिशत लगानी गछौं । निर्माण टोलीले हामीलाई भवन हस्तान्तरण गरेपछि त्यहाँ भित्र आवश्यक फर्निचर लगायत हरेक चीज राख्नुपर्ने र गर्नुपर्ने कामहरु हुन्छ, नमूना विद्यालय बनाउन लागि पछौं ।
४. स्थानीय सरकारसँग साझेदारीमा काम गरिरहनु भएको छ, सहकार्य र समन्वय कस्तो छ ?
–हामी नयाँ कुरा केही पनि गदैनौं । नेपालको संविधान र नियमकानुन अनुसार हामी काम गर्ने भएकाले नियमकानुन के छ त्यही अनुसार समुदायस्तरमा काम गर्ने हो । शैक्षिक गुणस्तर गर्नलाई के–के गर्नुपर्छ त्यही अनुसार उहाँहरुसँग छलफल र सहकार्य गरेर काम गछौं । शिक्षकको काम के हो, अभिभावकको काम र त्यहाँको समुदायको जिम्मेवारी के हो भन्ने बिषयमा बृहत छलफल गछौं । हामीले पूरा गर्ने काम गछौं, उहाँहरुले गर्नुपर्ने काम अवलोकन, अनुगमन र मूल्याङकन के–के हो त्यो बारेमा ‘कन्भिन्स’ गराउँछौं । अहिले सम्म हामीले संखुवासभा, गुल्मी र ताप्लेजुङमा काम गर्दा सहकार्य र समन्वय राम्रो छ । अहिले सम्म हामीहरुले गरिरहेको कामलाई स्थानीय सरकारले सहयोग र अनुशरण गर्दै संस्थागत गरिदिनहुन्छ भन्ने पनि आशा गरेका छौं । र, भविष्यमा झन धेरै गर्नुहुन्छ होला भन्ने आशा गरेका छौं ।
५.यति ठूलो कार्यक्रम संचालन गरिरहनु भएको छ, यो प्रोजेक्ट कसरी संचालन भईरहेको छ?
—हामी विभिन्न दाताहरुसँग सहकार्य गरेर नै यो प्रोजेक्ट संचालन गरिरहेका छौं । यो प्रोजेक्ट संचालन गर्नका लागि हामीसँग ब्यक्तिगत र संस्थागत दाताहरु हुनुहुन्छ । संस्थागत रुपमा युकेएड, स्टेप टोनसँग सहकार्य गरिरहेका छौं । कटार फाउण्डेसन, ट्रपिक स्कीन केयर जस्ता थुप्रै वटा ब्यक्तिगत दाता र संस्थागत दातासँग सहकार्यमा काम गर्दै आइरहेका छौं । हामीलाई हाम्रो काम देखेर नै दाताहरुले पत्याई रहनु भएको छ । डोनेसन गरिरहनुभएको छ । हामी पेपरमा काम गदैनौं, जे गछौं स्थलगत रुपमा काम गछौं । त्यसैले पनि हामीलाई दाताहरुले विश्वास गर्नुहुन्छ । हामीले राम्रो काम गरेकै कारणले दाताहरुले विश्वास गर्नु भएको हो भन्ने लाग्छ । त्यसमा पनि हामी त ग्रामीण क्षेत्रको समुदायमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नका लागि काम गरिरहेका छौं, त्यसैले हामीलाई अहिले सम्म विश्वास गरिरहनु भएको छ र आगामी दिनमा झन धेरै साथ सहयोग गर्नुहुन्छ भन्ने आशा समेत राखेका छौ ।
६. युडब्लुएसले यो सात बर्षको दौडानमा समुदायस्तरमा रहेर काम गरिरहँदा काँही कतै विवाद भएको छ ?
—हामीले काम शुरु गर्दा संघीयता लागु भएको थिएन, सो समयमा स्थानीय सरकार नै थिएनन् । अहिले हामी निरन्तर रुपमा काम गरिरहँदा कतै पनि त्यस्तो ठूलो विवाद आको छैन् । स्थानीय सरकारको साथ सहयोग पूर्ण रुपमा पाएका छौं । केही–केही ठाउँमा सामान्य कुराहरु आएको छ तर त्यो म विवादको रुपमा लिन चाहान्न् । केही बुझाइको कमीकमजोरी कारणले त्यस्तो भएको हुनसक्छ । अहिले सम्म संखुवासभा, गुल्मी र ताप्लेजुङ ३ वटा नै जिल्लामा काम गर्दा समुदाय र स्थानीय सरकारको भरपूर साथ सहयोग पाएको छौ भने आगामी दिनमा पनि पाउनेछौं भन्ने आशा राखेका छौं ।
७. तपाईहरु स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी पाँच बर्षसम्म काम गर्नुहुन्छ, त्यसपछि चाँही के हुन्छ त ?
—हामी गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नका लागि हामीले समुदायस्तरमा काम गछौं । यसमा त्यहाँको समुदाय, हाम्रो संस्था र स्थानीय सरकारको समेत जिम्मेवारी हो । नेपालका कुनै पनि गैरसरकारी संस्थाले एउटा विद्यालयमा संम्झौता भन्दा पछिसम्म त्यहाँ काम गर्दैन । निश्चित अवधी पूरा गरि सकेपछि त्यो समुदायलाई हस्तान्तरण गछौं । हामीले त्यहाँको समुदाय र विद्यालयसँग शुरुवाती चरण देखि नै हामी पाँच बर्ष भन्दा पछाडी काम गदैनौं, हाम्रो सहयोग रहदैन भनेका हुन्छौं । पाँच बर्ष पछाडीको बारेमा चाँही त्यहाँको समुदाय र स्थानीय सरकार समेत जिम्मेवार बन्नुपर्छ । सधै एउटा गैरसरकारी संस्थाले काम गरिदिएर हुदैन, आधारभूत तहमा काम गरेपछि त्यसपछि आफै काम गर्न सक्ने सक्षम हुनुपर्छ भन्ने हाम्रो उद्धेश्य हो । सक्षम बनाएर हस्तान्तरण गर्ने हो ।
८. समुदायस्तरमा रहेर काम गरिरहँदा जनसहभागीता चाँही कसरी जुटाउनुहुन्छ ?
—हामी जुन समुदायमा काम गर्न जान्छौं । त्यहाँका समुदाय, विद्यालय परिवार र स्थानीय सरकारले सबैभन्दा पहिले अपनत्व लिनुपर्छ । हामीले त्यहाँका समुदाय तथा स्थानीय सरकारसँग ५०÷५० प्रतिशत लगानीमा काम गछौं । भोली हामीले छोडेर जाँदा पनि त्यहाँको समुदायले यो विद्यालय हाम्रो हो भन्ने अपनत्व अपनाओस् भनेर नै ५०÷५० प्रतिशत लगानीको अवधारण बनाएका हौं ।
९. युडब्लुएस नेपालको भावी रणनीति र योजनाहरु के–के छन् ?
—हामीले सन् २०१७ देखि कार्यक्रम शुरुवात गरेका हौं । संखुवासभा हाम्रो जेठो जिल्ला हो । त्यसपछि पश्चिम नेपालको गुल्मी जिल्लामा काम ग¥यौं र त्यसपछि पूर्वको नै ताप्लेजुङ जिल्लामा काम गर्न पुग्यौं । आगामी दिनमा हामीले क्षेत्र बिस्तार गर्दै भोजपर, हुम्ला, धनकुटा र तनहुँमा समेत सन् २०२४ मा कार्यक्रम लागु गदैछौं ।
१०. तपाईं युडब्लुएसमा शिक्षा संयोजक भएर काम गरिरहँदा हाम्रो सामुदायिक विद्यालयको अवस्था खस्किनुको कारण चाँही के होला जस्तो लाग्छ ?
—मेरो विचारमा चाँही यस्तो लाग्छ । हाम्रो शैक्षिक नीति तथा कार्यक्रमहरु राम्रा छन् । ति नियम कानुनहरु समुदायस्तर सम्म कति कार्यन्वयन भएका छन् भन्ने महत्वपूर्ण कुरा हो । तर, हामीले समुदायस्तर सम्म पुगेर हेर्दा ति कुराहरु पूर्ण रुपमा कार्यन्वयन भएको पाएका छैनौं । हाम्रो नीति तथा कार्यक्रम पेपरमा राम्रो छ, शिक्षक अभिभावक संघ, विद्यालय ब्यबस्थापन समिति र प्रधानाध्यापकको काम, कर्तब्य र अधिकारका कुराहरु र जिम्मेवारीका कुराहरु एकदमै राम्रा छन् । तर, कार्यन्वयन चरणमा कमजोरी छ । तर, युडब्लुएस नेपालले त्यही कुराहरु समुदायस्तर सम्म बुझाएर काम गर्दैआएका छौं । त्यसैले गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सफल भएका छौं जस्तो लाग्छ । शिक्षाले मुलुकको मुहार नै परिवर्तन गर्ने भएकाले राज्यले शिक्षालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्छ । बजेट बिनियोजन गरेर मात्रै पनि हुदैन, अनुगमन र मूल्याङकन पनि संग–सँगै गर्नुपर्छ । कुनै पनि देशको शिक्षा नीति बिगार्ने हो भने त्यहाँको सम्पूर्ण कुराहरु तहसनहस हुन्छ ।
११. कार्यक्रमको अन्त्यमा के भन्न चाहानुहुन्छ ?
—सर्वप्रथम त मलाई बोलाएर आफ्नो कुराहरु राख्ने अवसर दिनुभयो त्यसको लागि मुरी–मुरी धन्यवाद तथा आभार प्रकट गर्दछु । शिक्षा यस्तो चीज हो जसले मात्रै समाज परिवर्तनको संवाहकको भूमिका खेल्दछ । तीनै तहका सरकारले शिक्षा क्षेत्रलाई सहि ठाउँमा लगानी गरे, त्यसबाट प्रतिफल समेत सजिलै पाउन सकिन्छ । त्यसैले सबै शैक्षिक सरोकारवालाहरुलाई शिक्षा प्रति उत्तरदायी बन्न आग्रह गर्दछु । धन्यवाद ।
भिडियो पनि हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=_QULH2NYTbQ