काभ्रे । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गर्नुभएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले संसद् अवरोध कानून निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसदको सहयोगका लागि आह्वान गर्नुभएको हो ।
“केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन । परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौँ”, सभामुख घिमिरेले भन्नुभयो, “सांसदहरूले संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।”
अघिल्लो संसद्मा पनि संसद् विघटन, पुनःस्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा पर्याप्त छलफल हुन नसकेको स्मरण गराउँदै संसद् अवरोधको परिस्थितिको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा संसद्मा पर्याप्त छलफल हुन नसकेको बताउनुभयो ।
“मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा जसरी संसद्मा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन”, उहाँले भन्नुभयो “मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसद्मा पनि यथाशक्य यस विषयमा छलफल हुनुपर्छ ।”