संखुवासभा । खाँदबारी नगरपालिकाले नगरभित्रका दुई हजार ६ सय एक किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप (एचपिभि) खोप लगाउने भएको छ।
मंगलबार खाँदबारीमा नगरस्तरीय खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । नगरभित्रका १० देखि १४ वर्ष उमेर समूहका दुई हजार ६ सय एक किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप (एचपिभि) खोप दिने तयारी तीव्र भइरहेको खाँदबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिप श्रेष्ठले बताए ।
उनको अनुसार, विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि कक्षा १० सम्म र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचभिपी खोप दिइने श्रेष्ठको भनाइ छ ।
देशभरी नै राष्ट्रिय अभियान अन्तर्गत एचपिभि खोप माघ २२ देखि फागुन ७ गतेसम्म १५ दिनमा सम्पन्न गर्नुपर्ने भनिएको छ तर खाँदबारी नगरपालिकाले यहि माघ २२ देखि ३० सम्म खोप दिने तयारीमा जुटेको स्वास्थ्य शाखाको भनाइ छ । खाँदबारी नगरपालिका भित्रका २८ वटा विद्यालय, ११ वटा स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल गरि ४० वटा स्थानलाई खोप केन्द्र तोकेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । उनले खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरण सहित तीव्र तयारीमा जुटेको बताए ।

कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान खाँदबारी नगरपालिकाले विशेष कार्यक्रमको रुपमा अभिमुखीकरण गरेर अघि बढेको बताए । उनले नगरभित्रका किशोरीहरुलाई बेलैमा अभिमुखीरकण सहित खोप दिनु सकारात्मक काम भएको बताए । ‘खाँदबारी नगरपालिका स्वास्थ्यको क्षेत्रमा सचेत छ, किशोरीहरुलाई खोप दिन स्वास्थ्य केन्द्र र विद्यालयसम्म पुग्नेछ । यसअघि पनि विभिन्न समयमा जिल्लास्तरमा खाँदबारीको स्वास्थ्य शाखा जिल्लामा प्रथम बन्र्दै आइरहेको छ, अब पनि प्रथम बन्नेछ भन्ने आशा गर्दै सबै जना खोप केन्द्र सम्म पुगेर खोप लगाइदिन अनुरोध छ । ब्यापक रुपमा प्रचारप्रसार गरि सबैतिर सूचना पु-याइदिन संचारकर्मीहरुलाई समेत अनुरोध गर्दछु ।’–मेयर थपलियाले भने ।
एचपिभि खोप नेपालमा २०७६ साल देखि लगाउन थालिएको हो भने संखुवासभामा यो खोप यसैबर्ष देखि मात्रै दिन थालिएको नगरपालिकाको भनाइ छ । विशेषः गरि यौन सम्पर्कको कारण यो रोग सर्ने गर्दछ । त्यसैको पूर्वतयारी र रोकथामका लागि किशोरीहरुलाई आमा बन्नुभन्दा अगाडी नै यो खोप दिइने गरेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठको भनाइ छ । संखुवासभा जिल्लाभर नौ हजार ३५ जना किशोरीहरु रहेका छन् ।

