- स्थापना :
अन्ततः बहुप्रतिक्षीत “विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय”को केन्द्रीय कार्यालय राखिने ठाउँको टुङ्गो लागेको छ । वसन्त पञ्चमीको अवसर पारेर माघ २१ गते एउटा अन्तक्र्रिया आयोजनासहित संखुवासभा जिल्लाको खाँदवारी नगरपालिकालाई केन्द्र बनाएर केन्द्रीय कार्यालय उद्घाटन भएको छ । कार्यालय भवन उद्घाटनपछि यो ठाउँ कि त्यो ठाउँ भन्ने धनकुटा, भोजपुर र संखुवासभाका स्थानीय वासिन्दाको कौतूहलको अन्त भएको छ । विश्वविद्यालय परिषदका अध्यक्ष डा.अर्जुन कार्कीले विश्वविद्यालयको साइन बोर्ड अनावरण गरेर कार्यालय स्थापना गरे ।
सो अवसरमा धनकुटा, भोजपुर अनि संखुवासभा जिल्लाका १९ वटा पालिकाका प्रमुख र उपप्रमुख, तीनवटै जिल्लाका समन्वय समितिका प्रमुख र उपप्रमुख संखुवासभा जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरु, जिल्लास्थित कार्यालय प्रमुख र कर्मचारी, नागरिक समाज लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो ।
- विश्वविद्यालय स्थापनाका लागि भएका प्रयास :
यो विश्वविद्यालय स्थापना र सञ्चालन गर्न नेपाल सरकारले सम्पूर्ण जिम्मेवारी लिएको छ । ऐन, कानून तर्जुमा, आर्थिक स्रोतको व्यवस्थापन, संरचना तयारी तथा पदाधिकारी र जिम्मेवारी तोक्ने सम्मका सबै काम सरकारी तहबाट भएका छन् । “विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय” संस्थापना गर्न आवश्यक कानूनी पूर्वाधार निर्माण गर्न तत्कालीन शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले २०७६ सालमा संसदमा पहिलो पटक “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक,२०७६” विधेयक प्रस्तुत गरेका थिए । उनले विधेयक प्रस्तुत गर्नाको उद्देश्य र कारण खुलाउँदै लेखेका छन् “प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यावहारिक तथा व्यावसायिक बनाउने उद्देश्यका साथ नेपाल सरकारको आ.व.२०७३÷०७४ देखि नै बजेट तथा कार्यक्रममा समावेश भएको कारण विषयगत विशिष्टता कायम गरी दक्ष जनशक्ति उत्पादन गर्न वाञ्छनीय भएकाले संघीय संसद समक्ष योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ प्रस्तुत गरेको छु ।” तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले २०७६ सालमा प्रस्तुत गरेको यो विधेयक संसदबाट २०७८ सालमा मात्र पारित भएको थियो ।
यो विधेयक पारित भएपछि विश्वविद्यालय स्थापनाको कार्यले केही गति लियो । विश्वविद्यालय सभा गठन भयो, भौतिक पूर्वाधार निर्माण समिति बन्यो, जग्गा प्राप्तिका कार्यहरु भए । तथापी केही कानूनी बाधा रहेको महसूस गरेर २०८१ सालको मंसिर÷पुसमा मात्र अध्यादेश मार्फत कानूनी अडचन् हटाउने काम भयो र विश्वविद्यालयको नाम पनि “विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय” भएर आयो ।
ऐन तथा अध्यादेश कार्यान्वयनमा केही समय लागेता पनि अन्ततः देशमा खुलेका, स्थापना भएका, सञ्चालनमा रहेका विश्वविद्यालयहरुको भीडमा २०८१ सालको माघ २१ गतेका दिन नयाँ विश्वविद्यालय “विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय” थपिएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापनाका लागि जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको महत्वपूर्ण भूमिका देखा परेको छ । सतहमा विश्वविद्यालय परिषदका अध्यक्ष डा.अर्जुन कार्कीको नेतृत्वमा रहेका सम्पूर्ण विश्वविद्यालय परिषदका सदस्यहरु पनि देखिएका छन् । राजनीतिक दलहरुका नेता÷कार्यकर्ताहरु, देशको राजधानीमा रहेका संखुवासभा, भोजपुर र धनकुटाका कर्मचारीतन्त्रका उच्च पदस्थ व्यक्तिहरु, विभिन्न पेशामा रहेका पेशाकर्मी नागरिकहरु, प्राज्ञिक व्यक्तित्वहरु, आम नागरिक लगायत सबैको उत्साहपूर्ण प्रयासका कारण संखुवासभामा विश्वविद्यालय खुल्ने वातावरण बनेको हो ।
- स्थानीय धारणा :
विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय खाँसगरी खाँदवारीमा सञ्चालित “हिमालय किरण पव्लिक क्याम्पस”का प्राचार्य डा.मातृका तिम्सिनाको “ब्रेन चाइल्ड” हो । “हिमालय किरण पव्लिक क्याम्पस”को स्थापना र सञ्चालनमा प्राप्त सफलताबाट उत्साहित डा.तिम्सिना विक्रम सम्बत्को २०६० को दशकको अन्ततिर “अब विश्वविद्यालय स्थापना गर्नुपर्छ” भन्दै जनमत सिर्जना गर्दै हिडेको मलाई सम्झना छ ।
नेताहरुको ध्यान विश्वविद्यालय स्थापना र सञ्चालनतिर तान्न, प्राथमिकता हासिल गर्न तथा विरोध नआओस भनेर प्रसिद्ध विभूति “योगमाया”को नाममा विश्वविद्यालय स्थापना गर्ने धारणा अगाडि आयो । जसमा कसैको कतैबाट पनि विरोध रहेन बरु उत्साह नै थप्यो । फलस्वरुप आजको दिनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना भयो । सरकारले एक जना कर्मचारी समेत तोकिदियो ।
तर, विश्वविद्यालयको भविष्य र दिगोपनाका बारेमा जनतामा संशय अझै बाँकी छ । कोही विद्यार्थी नहोलान् कि ! भन्ने कुरामा चिन्तित छन् । कोही सञ्चालनको नेतृत्वकर्ताको क्षमता, इमान्दारिताप्रति सशंकित छन् । कोही योग्य जनशक्तिको अभावमा अलपत्र पो पर्ला कि ! भन्ने चर्चा गर्छन । कोही दलका नेता तथा कार्यकर्ताको भर्तिकेन्द्र पो बन्ने हो कि ! भनेर चिन्ता गरिरहेछन् । कोही भने अझ अगाडि बढेर देशी विदेशी स्वार्थकेन्द्रको निशाना बन्ने आँकलन गरिरहेका छन् । विश्वविद्यालय स्थापनाबाट के कति लाभ लिन सकिन्छ भनेर औंला भाँच्नेहरु पनि पाइन्छन् ।
- अवसर :
वि.सं.२०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना र सञ्चालन गर्न कीर्तिपुरको डाँडा छनोट गर्दा कीर्तिपुरेहरुको जे मनस्थिति थियो, आज त्यही मनस्थिति छ संंखुवासभाका जनतामा । विश्वविद्यालय स्थापना हुँदा सिर्जना हुनसक्ने अवसरका बारेमा अन्योल नै छ । किनकि यो विश्वविद्यालय विषय–केन्द्रीत विश्वविद्यालय हो, आयुर्वेद ।
संखुवासभा, भोजपुर र धनकुटा क्षेत्रमा “आयुर्वेद विज्ञ” हुन सक्छन् भन्नेमा स्थानीय बासिन्दाहरु विश्वस्त हुन सकिरहेका छैनन् । विषय केन्द्रीत हुँदा योग्य जनशक्तिका सम्बन्धमा आशङ्कित हुनु स्वाभाविक नै हो । तर पनि आशावादी हुने क्षेत्र भएकोमा भने एक प्रकारले ढुक्क पनि देखिएका छन्, त्यो हो यो क्षेत्रमा पाइने “हिमाली जडीबुटी, वनस्पति”को व्यापारिक उपयोग अनि सिमित रोजगारी आदि ।
संसारका अधिकाँश मुलुकले आयुर्वेद उपचार पद्दतिको महत्व बुझेर आयुर्वेद विश्वविद्यालय सञ्चालन गर्दै आएका छन् । एलोप्याथिक उपचार पद्दतिका विकासकर्ता विकसित मुलुकहरु संयुक्त राज्य अमेरिका, फ्रान्स वा जर्मनी प्रायः विकसित मुलुकले आयुर्वेद उपचार तथा औषधि विज्ञानलाई खुबै महत्व दिँदै कलेज र विश्वविद्यालय सञ्चालन गर्दै आएको पाइन्छ । छिमेकी मित्रराष्ट्र चीन लगायत अन्य छिमेकी मुलुकमा पनि आयुर्वेद चिकित्सा पद्दतिलाई प्राथमिकता दिएको त्यहाँ सञ्चालनमा रहेका कलेज र विश्वविद्यालय नै ज्वलन्त उदाहरण छन् । अझ दक्षिणतर्फको ठूलो छिमेकी राष्ट्र इण्डियाका विभिन्न प्रान्तमा सञ्चालनमा रहेका करिब पाँच सयको संख्यामा रहेका कलेज तथा विश्वविद्यालयहरुले इण्डिया सरकारले आयुर्वेद चिकित्सा पद्दति र ज्ञानका क्षेत्रमा दिँदै आएको महत्वलाई प्रमाणित गरेका छन् ।
- चुनौती :
आयुर्वेद विश्वविद्यालयको सम्भावना र अवसर प्रशस्त छन् भनेर चुनौती नहोलान् भनेर अनदेखा गर्न भने सकिँदैन । नेपालका विविध क्षेत्रमा विभिन्न स्वार्थ समूहको आँखा लाग्ने गरेको सबैलाई विदित नै छ । अकर्मण्यता, भ्रष्टाचार, कामचोर प्रवृत्ति, अक्षमता लगायतका हाम्रा महारोगहरु “विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय”का प्रमुख चुनौती बन्न सक्छन् ।
प्राकृतिक अवस्थाका हाम्रा हिमाली जडिबुटीहरुमा देशी विदेशीहरुले सदियौंदेखि आँखा गाड्दै आएका छन्। सरकारद्वारा सञ्चालित “बैद्यखाना”, आयुर्वेद अस्पताल आदि त्यहाँ कार्यरत कर्मचारीहरुको अकर्मण्यता र अयोग्यताको शिकार भएका छन् । निजी क्षेत्रमा खुलेका एकाध आयुर्वेदिक संस्थाहरुले लाज बचाएका छन् । तर ती पनि गुणस्तरमा सदैव शंका रहीआएको छ। जसले गर्दा नेपाली जनमानसमा आयुर्वेद चिकित्सा पद्दतिप्रति नै अविश्वास बढ्दै आएको छ । नेपालको अँग्रेजी पुस्ता त झन् आयुर्वेद चिकित्सा पद्दतिलाई रुढी परम्पराको निरन्तरताको सँज्ञा दिन अग्रसर रही आएको छ । यस्ता विविध खाले प्रवृत्तिले गर्दा आयुर्वेद विश्वविद्यालयका सामु चुनौती छन् भनिएको हो ।
निष्कर्षमा, संखुवासभा जिल्ला लगायत समग्र अरुण उपत्यकाकै अपनत्व स्थापित हुने गरी “विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय” स्थापना हुन गएको छ । यस विश्वविद्यालयले अरुण उपत्यकावासीका लागि केही न केही अवसर सिर्जना गर्नेछ । त्यसभन्दा बढी यस क्षेत्रको प्रतिष्ठालाई थप उचाई प्रदान गरेको छ । तसर्थ विश्वविद्यालयका लागि अवरोध सिर्जना हुने व्यवहार प्रदर्शन गर्नुभन्दा विश्वविद्यालयलाई विश्वस्तरमा पु-याउन सके अवसर र प्रतिष्ठामा नै बढोत्तरी हुने कार्य गरेर योगदान पु-याउनु सबैको कर्तव्य हुन जान्छ ।
आयुर्वेद शास्त्रमा आधारित भई विश्वविद्यालय त्यो पनि संखुवासभा जिल्लाको खादबारीमा स्थापना हुनु गाैरवकाे विषय हाे । विश्वविद्यालय स्वीकृति र स्थापना निकै कठिन एवम् महत्त्वकाे विषय हाे । तर एक चरणको काम सम्पन्न भएको मानिन्छ । जीवनाथ खनालज्यूकाे लेख पढ्ने अवसर पाऐ । लेखमा थुप्रै अवसर सहित समसामयिक चुनैतिहरू उल्लेख भएको छ । हाम्रो परिपाटी स्थापना गर्ने, संचालन अनुमानि दिने र भाैतिक वस्तु स्थितिकाे पक्षलाई मात्र अनुमान गर्ने प्रवृत्ति छ । यस संग सम्वन्धित विषयवस्तु, पाठ्यक्रम, विद्यार्थी, श्राेत व्यक्ति/जनशक्ति व्यवस्थापन, सहित अन्य आवश्यक पुर्वाधार जस्ता विषयहरूमा अध्ययन अनुसन्धान भई दस्तावेज Guideline काे काम अझै भएको छ भन्ने मलाई लाग्दैन तर त्यस्ता कुराहरू पहिले नै पुर्ण हुनुपर्छ । अर्को महत्त्वपूर्ण विषय बजेट रहेको छ विश्वविद्यालय स्थापना गर्ने तर बजेट हचुवा काे भरमा विनियोजन गर्ने त्यो पनि अति न्युन गर्ने जस्ले कुनै ताेकिएकाे लक्ष र उदेश्य पूरा गर्न नसक्ने हुने । यस्तो प्रकारको हाम्रा देशको प्रवृत्ति भनाै वा बजेट काे अवस्थाले गर्दा चुनाैतिपुर्ण नै छ । जे हाेस संखुवासभाको केन्द्रमा स्थापना भएको छ सबैकाे सकारात्मक साथ सहयोग भए वा जुटाउन सके संखुवासभा मात्र नभई नेपाललाई नै चिनाउन सक्नेछ ।
विश्वमा आयुर्वेदको बढ्दो लोकप्रियता, यस जिल्लाको प्रचुर प्राकृतिक सम्पदाको उचित व्यवस्थापन आदि सम्भाव्यतालाई विचार गर्दा अतिनै आबस्यक देखिएको विश्वविद्यालय स्थापना हुनु हामी संखुवासभाको लागि गौरवको विषय हो । सबै शैक अभियन्ताहरुको योगदान अविस्मरणीय छ । प्रस्तुत लेख पठनीय,जानकारीमूलक,खोजमूलक सबै दृष्टिले सर्हानिय लाग्यो । निश्चय नै हरेक वस्तुका दुई पाटा हुन्छन् र यस विश्वविद्यालयमा पनि लेखकले उल्लेख गर्नुभएको अवसर र चुनौती अवस्य छन् । संखुवासभा बासी सम्पूर्ण सरोकारवालाले सकारात्मक रूपबाट सहयोग गर्नु दायित्व पनि हो ।
विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका विषयमा लेखिएको यो लेख पठनीय र उत्कृष्ट देखियो। यस विश्वविद्यालयका बारेमा चासो हुने जो कोहीका लागि खुराक बनेको छ यो लेख। यसका लागि लेखकलाई र प्रकाशकलाई हार्दिक धन्यवाद। विदेशी योगमाया भनेको को हो किन यो नाम विश्वविद्यालयसँग जोडियो र यो विश्वविद्यालय ले आगामी दिनमा के कस्ता विषयहरु राखी अगाडि बढ्नेछ; यसको भविष्य कस्तो हुने सम्भावना छ; जस्ता विषयहरू पनि समावेश गरिएको भए सुनमा सुगन्ध हुने थियो कि?
लेख सान्दर्भिक, सन्देश मूलक र यथार्थ परक छ, अवसर चुनौती काे राम्रो चीर फार गरिएको छ। गज्जब छ। भाइलाई धेरै धन्यवाद।
लेख सामयिक र जानकारी तथा सन्देशमुलक छ । यस्ता लेखहरु नियमित रुपमा आउन सकाेस् ।
आलेख यथार्थपरक र तथ्यपरक छ । यसले खुल्न लागेकाे विश्वविद्यालयकाे पृष्ठभूमि, अवसर र चुनाैतीकाे गहन विश्लेषण गर्नुभएकाे छ । धन्यवाद ।
Gajjav !
हजुरले देखाएका चुनौतीपार गर्न नेतृत्व लिने ब्यक्तिको इच्छाशक्तिमा निर्भर रहन्छ , र त्यहा जुकाहरुको इन्ट्री पहिलेदेखिनै हुँदै आइरहेको कारण सफलनै बनाउछन् भन्नेमा भरपुर संका रहेको छ । जो कि कोमामा पुगेको नेपाल संस्कृत विश्वविद्यालय जस्तै ,
विश्वविद्यालयको सम्पूर्ण दायित्व सरकारले लिएको भए पनि यसलाई सहज बनाउने र भरथेग गर्ने मुख्य दायित्व अरुण उपत्यकाबासीकै हो । त्यसमा पनि पहिलो संखुवासभा , दोस्रो भोजपुर र तेस्रो धनकुटा जिल्लाको हो । त्यसमा सबैको साथ सहयोग मिलोस् ।