संखुवासभाको खाँदबारी नगरपालिका–१ खाँदबारी बजारमा स्व.रामबहादुर श्रेष्ठ र मनमायाँ श्रेष्ठको कोखबाट जन्मिएका हुन्—सुजनकुमार श्रेष्ठ । उच्च शिक्षा संयुक्त राज्य अमेरिकामा गरेका श्रेष्ठ उतै ब्याबसायमा समेत सक्रिय थिए । अमेरिकामा नै ४० बर्ष मुनीका युवा ब्याबसायी भनेर सम्मानित भईसकेका श्रेष्ठ अहिले अमेरिका छोडेर धेरै जति नेपालमा समय बिताईरहेका छन् । अहिले अमेरिका आउनेजाने र नेपालमा प्रशस्त आम्दानीको स्रोत छ भनेर लगानी गरिरहेका छन् । मनराम फाउण्डेसनका अध्यक्ष लगायत दर्जनौं संघसंस्थामा आवद्ध रहेका श्रेष्ठसँग संखुवासभा एक्सप्रेसका सम्पादक नवीन गुरुङले गरेको कुराकानीको सार अंश :
१. कार्यक्रममा स्वागत छ ?
—धन्यवाद ।
२. आराम कुशल हुनुहुन्छ ? अमेरिका आउनेजाने त भइरहेकै छ तर धेरै समय नेपालमा बिताईरहनु भएको छ ? के गर्दै हुनुहुन्छ ?
—आरामै छु । कोरोनाको समयमा धेरै समय अमेरिका नै परिवारसँग बसे । कोरोना पछि नेपालमा नै केही गर्नुपर्छ भनेर काम गरिरहेको छु । अहिले हामीले नेपालको विर्तामोडमा दक्षिण एसियाको नै ठूलो गौशाला बनाउने भनेर लागिरहेका छौं, यो प्रोजेक्ट सन् २०३२ सम्म सम्पन्न हुन्छ । त्यसैगरि संखुवासभामा नै केही गर्नुपर्छ भनेर अहिले हामी बेसार, उखु र तराई क्षेत्रमा तोरीमा लगानी गरेका छौं । त्यसैगरि अहिले प्रोजेक्ट कुभिन्डोमा लगानी गरिरहेका छौं । हामीले कृषि क्षेत्रमा नै लगानी गरेर प्रतिफल लिन सकिन्छ भनेर लगानी गरिरहेका छौं, त्यो बाहेक अन्य क्षेत्रमा समेत लगानी गरिरहेका छौं ।
३. तपाई एक सफल उद्यमी हुनुहुन्छ, संखुवासभावासीलाई आफूलाई कसरी चिनाउनुहुन्छ ?
—मेरो हजुर वुवा स्वर्गीय सूर्यबहादुर श्रेष्ठ हुनुहुन्छ । हालको खाँदबारी हिमालय उच्च माविको संस्थापक हुनुहुन्छ । अझ ढुङ्गेधाराबाट आएको दिलासिंको पनाति, सूर्यबहादुर श्रेष्ठ अर्थात माइला साहुको नाति र मेरो वुवा रामबहादुर श्रेष्ठको छोरा भनेर चिनाउनु चाहान्छु । मेरो हजुर वुवा सूर्यबहादुर श्रेष्ठ नै शिक्षाले मात्रै समाज परिवर्तन हुन्छ भन्ने धारणा राख्नुहुन्थ्यो । त्यसैगरि मेरो वुवा रामबहादुर श्रेष्ठले हरेक बालबालिकाहरुले पढन, लेख्न पर्छ यो जन्मसिद्ध अधिकार हो भनेर भन्नुहुन्थ्यो । त्यसैले नै २०६८ सालमा मनराम फाउण्डेसन वुवाको सक्रियतामा नै खोलिएको हो । देशभर पुस्तकालय खोल्ने काम भयो ।
म २०७० सालमा अमेरिकाबाट नेपाल आए । वुवा विरामी भएकाले उपचारको निम्ति आएको थिए । वुवासँग कुराकानी गर्दै जाँदा नेपाल बनाउनुपर्छ, केही लगानी गर्नुपर्छ भनेर वुवाले सल्लाह दिनुभएपछि नेपालमा बढि लगानी गर्न चाहेको हो । वुवाको प्रेरणाले यतै बस्ने निर्णय गरे ।
४. तपाई युवा ब्याबसायी भनेर नेपाल सरकारबाट सम्मानित भईसक्नुभएको छ ? कस्तो अनुभव भयो ?
—अध्ययन र ब्याबसायको सिलसिलामा धेरै बर्ष अमेरिका नै बसे । नेपाल आएको त १० बर्ष मात्रै हुदैंछ । सन् २०१५ मा अमेरिकामा नै ४० बर्ष मुनीको ४० जना युवा ब्याबसायी छनौट गर्ने क्रममा म पनि छनौटमा परे । त्यसैगरि नेपाल सरकारले सन् २०२० मा नेपालबाट धेरै कृषिजन्य उत्पादन विदेश निर्यात गर्ने भनेर मलाई सम्मानित ग¥यो । यसरी सम्मान पाउँदा खुशी लाग्छ तर, म यतिथोरै परिणाम विदेश निर्यात गर्ने मानिसलाई सरकारले सम्मान गर्नुभनेको म जति विदेश निर्यात गर्ने अरु रहेनछ भनेर विचरा लाग्यो ।
नेपालको विकास गर्नुपर्छ भने कृषि क्षेत्र नै हो । यहाँको कृषि क्षेत्रको कायापलट गर्ने हो भने संम्भावना थुप्रै देखेको छु । त्यही संम्भावना देखेर नै नेपाल फर्किएको हुँ र यसैमा लगानी गरिरहेको छु । कृषिले कायालपट गरेको देश उत्तरकोरिया र दक्षिणकोरिया हो । त्यो देश हेरौं न अहिले काँहा देखि काँहा सम्म पुगेको छ । हाम्रो देश कृषिप्रदान देश र कृषिमा आत्मनिर्भर भएको देश भनेर नेपाललाई चिनाउनुपर्छ भनेर लागेका छौं ।
५.कृषि क्षेत्रमा संखुवासभाको विकास गर्नका लागि के–के संम्भावना देख्नुहुन्छ ?
संखुवासभाको कृषि क्षेत्रको विकास गर्नका लागि अलैंची, उखु र बेसारको मात्रै उत्पादन बढाउने हो भने यसबाट प्रशस्त आम्दानी लिन सकिन्छ । हाम्रो जिल्लाको सबैभन्दा महत्वपूर्ण कृषि उत्पादन अलैंची हो । यसको उत्पादन बढाएर बजार राम्रो बनाउन सकिन्छ । अलैंचीमा के गर्न सकिने रहेछ भनेर म इन्डिया देखि कतार सम्म पुगें । यसको संम्भावना राम्रो छ । त्यसपछि संखुवासभामा अर्को बेसार खेती गर्न सकिन्छ । मैले तुम्लिङटार बजारमा बेसारको बारेमा अध्ययन गर्दा एक रोपनीबाट २६ हजार रुपैया आम्दानी हुनेरहेछ । अहिले हामी भारतबाट बेसार आयात गरिरहेका छौं । त्यही बुझेर मैले बेसारमा लगानी गरेको छु ।
त्यसपछि अर्को संखुवासभाको संम्भावना उखु हो । उखुबाट प्रशस्त मात्रामा सख्खर निकाल्ने हो भने आम्दानी लिन सकिन्छ । अहिले हामी भारतबाट चिनी आयात गरिरहेका छौ तर प्रशस्त मात्रामा यहि सस्तो गरि सख्खर उत्पादन गर्ने हो भने आममानिसहरुले चिनीको साटो सख्खर नै खानुहुन्छ ।
६. मुलुक नै आर्थिक मन्दीमा परेको छ ? यसलाई कसरी हेरिरहनु भएको छ ?
—आर्थिक मन्दीको कारण खरिद कम छ । मानिसहरुसँग पैसा अभावका कारण खरिद गर्ने मानिसहरु छैनन् । नेपालमा चाँही यस्तै रहिरन्छ तर विकसित मुलुकहरुमा सरकारले आमउपभोक्ताको गोजीमा कुनै न कुनै कारणबाट पैसा हालिदिन्छ र सो पैसा पुनः सरकारले कुनै न कुनै तरिकाबाट पुनः फिर्ता लिन्छ । यसरी आर्थिक मन्दी कम गरिरहेको छ । तर, नेपाल त्यो क्षमतामा पुगेको छैन् । त्यसैले नेपालले आर्थिक मन्दी कम गर्नका लागि कृषि क्षेत्रमा लगानी गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने लाग्छ । तर, कृषिक्षेत्रमा तत्कालै आम्दानी सुनिश्चितता छैन् । पर्खनु सक्नुपर्छ त्यसमा सरकारले कृषि क्षेत्रमा सरकारले लगानी गरिदिनुपर्छ । सरल कर्जाको ब्यबस्था लगायत विभितः किसिमले सरकारले सहयो गर्न सकिन्छ ।
७. अहिले युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ, स्वदेशमै रोक्न के गर्नुपर्छ ?
यो तुरुन्तको तुरुन्तै त सकिदैन् । तर, सरकारले ५ देखि १० बर्ष सम्मको योजना बनाएर काम ग¥यो भने रोक्न सकिन्छ । मलाई त के लाग्छ भने कृषिक्षेत्रलाई आत्मनिर्भर बनाउने हो, सहुलित कर्जा उपलब्ध गराउने हो भने युवाहरु रोक्न सकिन्छ । भर्खरका युवा भन्दा पनि ४० बर्ष नाघेका मानिसहरु नेपाल फर्किएर केही गर्न चाहान्छन् तर संम्भावना नदेखेर विदेशमा नै बसिरहेका छन् । मसँग कुराकानी हुदाँ धेरै जना नेपाल फर्किन चाहेको सुनाउनुहुन्छ तर संम्भावना नदेखेर उतै हुनुहुन्छ । आँट गरेर फर्किनुभएको छैन् ।
देशभित्र कृषि क्षेत्र बलियो बनाउने र जतिपनि भारत लगायत बाहिरी मुलुकमा आउने जुनसुकै खाद्यपदार्थहरुमा कडा निगरानी गर्ने र राज्यले कर लगाउने हो भने नेपाल उत्पादन भएको खाद्यउत्पादन सस्तो पर्छ र मानिसहरुले यहीको खपत गर्छन् । नेपालीले नेपालमा उत्पादन भएको खानेकुरा खाने बानी बसाल्नुपर्छ । नेपाल उत्पादन भएको खाद्यबस्तुलाई सरकारले बजारीकरण, ब्रान्डिङ्ग लगायतका धेरै सहुलियत दिनुपर्छ । जस्तो, म बेसारमा लगानी गरिरहेको छु, यसमा सरकारले सहयोग गर्नुपर्छ । राज्य कडा भएर लाग्नुपर्छ तब मात्रै कृषि क्षेत्रको विकास हुन्छ ।
८. तीनै तहका सरकारले युवा लक्षित कार्यक्रम के–के बनाउन आवश्यकता देख्नुहुन्छ ? र कस्तो नीति बनाए हुन्थ्यो भन्ने लाग्छ ?
—यति बेला आर्थिक मन्दीका कारण राज्य नै समस्यामा छ । अहिलेको यो अवस्थामा युवालाई यहि संम्भावना छ विदेश नजाउ भन्न त सकिदैन् । तुरुन्तै युवाहरुलाई रोक्न पनि सकिदैन् । तर, सरकारले चाहेको खण्डमा युवालाई लक्षित गरेर सीप विकास गराउन सकिन्छ । अहिलेका नेपालका राजनैतिक दलहरुले नारामा मात्रै देशमा प्रशस्त संम्भावना छ भन्छन् तर यर्थाथ अलि फरक छ । कुनै नेताले विदेश गएका युवा फर्काउने भन्छन् । तर, भन्न जति सजिलो काम गर्न गाह्रो नै छ ।
तर, मलाई के लाग्छ भने अहिले युवाहरुलाई सीप विकास गराउनुपर्छ । उनीहरुलाई उद्योग धन्दा र विकासमा आवद्ध गराउनुपर्छ । कन्ट्रक्सनको काम लगाउनुपर्छ । गाउँ–गाउँ सम्म सडक विस्तार गर्नुपर्छ, त्यहाँ उत्पादन भएको कृषिजन्य उत्पादन देश भन्दा बाहिर सम्म पु¥याउनुपर्छ । यसो गरियो भने पैसा घुम्छ । युवा केन्द्रीत नीति र कार्यक्रमहरु लागु गर्नुपर्छ।
९. तपाई आफु पनि सफल युवा ब्याबसायी हुनुहुन्छ, म आफै पनि एक प्रेरणा हो, यहि संम्भावना छ भनेर युवाहरुलाई के भन्नुहुन्छ ?
—म निराशावादी मान्छे होइन, केही न केही आशा बोकेर नै नेपाल फर्किएको हुँ । सोही अनुसार लगानी गरिरहेको छु । तर, एउटा उदाहरण भन्छु तुम्लिङटार पारिपट्टि साँगुरीमा ६०÷६५ घर छ । त्यहाँ म केही गर्न लागिरहेको छु तर १८ देखि ४० भित्रका युवा नै छैन् । सबै विदेश पलायन भएको छ । त्यतिमात्रै होइन मेरो एकजना साथी नेपालको ए लेभलको ठेकेदार हुनुुहुन्छ । उहाँको श्रीमती नेपाल सरकारको सहसचिव हुनुहुन्छ । तर उहाँहरु पनि नेपाल बस्न चाहानुहुन्न् । म अलि फरक छु जस्तो लाग्छ । त्यही भएर मात्रै नेपाल फर्किएको हुँ । अमेरिकामा पनि मेरो ब्यापार ब्याबसाय राम्रो भयो, सायद भगवानको कृपा हुनुपर्छ । मेरो पनि आम्दानी स्रोत राम्रो नभएको भए म पनि नेपाल आउदिन थिए होला । आर्थिक अवस्था सुधारिएकोले मात्रै नेपाल आएको हुँ जस्तो लाग्छ । कोही नेपालीले पनि हिम्मत हार्नु हुदैंन, हाम्रो जन्मभूमि र कर्मभूमि यहि हो । हामीले नै गर्नुपर्छ भनेर आमयुवाहरु भन्न चाहान्छु । धन्यवाद ।
भिडियो लिंक.....
https://www.youtube.com/watch?v=kHyZ65HX-Qg