संखुवासभा । जापान सरकारको सहयोगमा संखुवासभाको मकालु गाउँपालिका–३ गोलेचौर हेदाङना स्थित हिमालय माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको १२ कोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ।
बुधबार एक कार्यक्रम बीच नेपालका लागि जापानका कार्यवहाक राजदुत तमूरा ताकाहिरोले विद्यालय ब्यवस्थापन समिति र मकालु गाउँपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।
विद्यालय भवनको औपचारिक रुपमा उद्घाटन पछि स्थानीयलाई हस्तान्तण गर्दै राजदुत तमूरा ताकाहिरोले ग्रामीण क्षेत्रको शिक्षाको गुणस्तर बृद्धि गर्न जापान सरकारले शैक्षिक क्षेत्रमा समेत लगानी र सहयोग गर्दै आएको बताए ।
नेपालको विभिन्न ग्रामीण क्षेत्रमा जीर्णअवस्थामा रहेको सामुदायिक विद्यालयमा जापान सरकारले भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको एनपीओ नेपाल स्वयंमसेवक समाज नेपाल अध्यक्ष लाक्पानुर्बु शेर्पाले बताए । मकालुका स्थानीय समेत रहेका शेर्पाको सक्रियतामा सो विद्यालय भवनको लागि सहयोग प्राप्त भएको हो । जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) परियोजनाको लागि अनुदान सहायता अन्तर्गत वित्त पोषित कार्यक्रमबाट विद्यालय भवन निर्माण कार्यक्रम प्राप्त भएको एनपीओ नेपालका शेर्पाको भनाइ छ ।
आफनै गाउँठाउँको विद्यालयको अवस्था कमजोर देखेपछि विदेशी दातृ निकायको सहयोगमा विद्यालयको भवन निर्माण गरिएको शेर्पाले बताए । उनले हिमालय माध्यमिक विद्यालयको १२ कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण गर्न संस्थाले नेपाली रुपैया २ करोड ३२ लाख ४४ हजार ६०७ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको बताए । ‘संम्झौता अनुसार स्थानीय सरकार मकालु गाउँपालिकाले करिब २१ लाख रुपैया खर्च गर्नुपर्ने भएपनि अहिले सम्म रकम विनियोजन नगरेकोले संस्थाको एकलौटी लगानीमा निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको हो । स्थानीय सरकारको साझेदारीमा कुल २ करोड ५३ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न योजना रहेको थियो ।’—शेर्पाले भने ।
विद्यालयको भवन निर्माणका लागि ०७९ कात्तिक १५ गते एक कार्यक्रम बिच काठमाडौंस्थित जापानी राजदूतावासमा नेपालका लागि जापानका राजदूत किकुता युटाका र एनपीओ नेपाल स्वयंमसेवक समाज नेपाल अध्यक्ष लाक्पानुर्बु शेर्पा बिच अनुदान संम्झौतापत्रमा हस्ताक्षार भएको थियो।
मकालु जस्तो दुर्गम ठाउँमा सुविधासम्पन्न १२ कोठे शिक्षण सिकाईलाई उपयुक्त हुने गरि विद्यालय भवन निर्माण गरिएको छ । दुर्गम ग्रामीण क्षेत्रको शैक्षिक वातावरण अभिवृद्धि गर्ने लक्ष्य साथ विद्यालय भवन निर्माण गर्न लागेको एनपीओ नेपालका अध्यक्ष शेर्पाको भनाइ छ ।
हेदाङनास्थित हिमालय माध्यमिक विद्यालय वि.सं. २०१७ स्थापना भएको हो । उक्त विद्यालयमा ३८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भवन जीर्ण भएकाले पठनपाठन असुरक्षित भएपछि दाताको सहयोगमा निर्माण हुने भएको हो । उक्त आयोजनाको व्यवस्थापन एनपीओ नेपाल स्वयंसेवी समाज सेवाले गर्नेछ ।
यसअघि पनि एनपीओ नेपाल स्वयंसेवी समाज सेवा संस्थाले मकालु गाउँपालिका–६ स्थित बास्थला विद्यालय भवन निर्माण गरिसकेको छ । यसका साथै देशका विभिन्न स्थानका शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको संस्थाले जनाएको छ ।