संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ गुवाबारीमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा पाँच लाख बढिको ट्रयाक सुट र शैक्षिक सामग्री प्राप्त भएको छ ।
शुक्रबार मनका धनी दानवीर दाताहरु भक्तपुरका रोशन केसी लामिछाने र काभ्रेका परिक्षण हुमागाई आफै उपस्थित भई विद्यालयका बालबालिकाहरुलाई ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरेका थिए । उनीहरु दुई जनाले ब्यक्तिगत रुपमा रुपैया संकलन गरि विद्यालयका बालबालिकाहरुलाई शैक्षिक पठनपाठनमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरेका हुन् ।
ति दुई दाताले विद्यालयका कक्षा ६ देखि ८ सम्मका बालबालिकाहरुलाई ट्रयाकसुट १४० थान, टिसर्ट १४० थान, फलामे पिङ्ग १ सेट, कम्प्यूटर ३ थान प्रदान गरेका थिए । त्यसैगरि नर्सरी र केजीका बालबालिका र अन्य बालबालिकाहरुलाई स्तर अनुसार बेग्ला–बेग्लै सामग्री वितरण गरेका थिए । उनीहरुले मोजा, कापी, पेन्सिल, इलेजर, सार्वनर, पञ्चिङ्ग मेशिन, प्राथमिक उपचारका सामग्रीहरु, भलिवल, फुटबल, ब्याडमिन्टन सेट, क्यामबोट, भित्ते घडी, गोल्कुज, बिस्कुट, कफी, अल्फाबेट कार्ड र सेनेटरी प्याड लगायत सामग्री हस्तान्तरण गरेका थिए । विद्यार्थीहरुलाई चाहिने पोशाक, स्टेशनरी, शैक्षिक र खेलकुदका सामग्रीहरु वितरण गरेका थिए ।
उनीहरुलाई विद्यालयसम्म सामग्री वितरणका लागि ल्याउने माध्यम खाँदबारी–३ युवा सुशीलजंग कार्की हुन् । रोशन र परिक्षणसँग राम्रो सम्बन्ध रहेका कार्कीले आफ्नो जन्मथलोमा दाताहरुलाई सामग्री हस्तान्तरण गर्न ल्याएका हुन् ।
यसअघि पनि उनीहरुले विभिन्न ठाउँका दुर्गम र विकट जिल्लाका विद्यालयहरुमा शैक्षिक सामग्री सहयोग गर्दै आएका थिए । अहिले सम्म देशभरका विकट र दुर्गम दुरदराजका ६५ जिल्लामा पुगेर शैक्षिक सामग्रीहरु सहयोग गरिसकेको दाता परिक्षण हुमागाईले बताए । उनले ६५ जिल्लामा करिब हिसाबै गर्ने हो भने ८ करोड रुपैया भन्दा माथिका सामग्री हस्तान्तरण गरिसकेको बताए । ‘विकट ठाउँका विद्यालयहरु सहयोग गर्दा आत्मसन्तुष्टि मिल्छ । कोही पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर अभियानकै रुपमा विद्यालयहरुमा सहयोग गर्दै आएको हो । हामी कुनै संस्थामा आवद्ध छैनौं, हामीले चालेको अभियानमा देशविदेशमा रहनुहुने मेरो आफनै परिवारका सदस्य, चिनजानका साथीभाइले केही रकम पठाउनुहुन्छ, त्यो रकम हामी शिक्षाको क्षेत्रमा लगानी गछौं ।’–हुमागाईले भने ।
कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले यति टाढाबाट दाताहरु आएर विद्यालयलाई सहयोग गर्नु महान कार्य भन्र्दै धन्यवाद दिइन् । उनले आगामी दिनहरुमा समेत यस्तै विभिन्न दाताहरुको साथ सहयोग जारी रहोस् भन्ने अपेक्षा गरेको समेत बताइन् । कार्यक्रममा दाताहरुलाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुनिता कुटवाल कार्की र विद्यालयका प्रधानाध्यापक युवराज खत्रीले धन्यवाद दिएका थिए ।
दाताहरुलाई विद्यालयको तर्फबाट सम्मानपत्रद्धारा सम्मानित समेत गरेका थिए । सोही अवसरमा विद्यालयले विभिन्न समयमा विद्यालयमा आर्थिक र भौतिक रुपमा सहयोग गर्ने एक दर्जन भन्दा बढि दाताहरुलाई समेत सम्मानित गरेका थिए ।
वि.सं.२०४४ सालमा स्थापना भएको यो विद्यालयमा हाल ३ सय ९९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । अहिले भर्नाको समय भएकाले अझै बढ्ने विद्यालयको भनाइ छ । विद्यालयको तल्लो तहका कक्षाहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि आकर्षण बढेको छ ।
तलको भिडियो लिंक पनि हेर्नुहोस....
https://www.youtube.com/watch?v=A0_R9DgrSsk