संखुवासभा । जिल्लाका सबै स्थानीय तहमा संचार नीति बनाउन प्रतिबद्ध रहेको जनप्रतिनिधीहरुले बताएका छन् ।
बुधबार संखुवासभाको सदरमुकाम खाँदबारीमा ‘पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधीहरुको तर्फबाट साझा रुपमा बोल्र्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जिल्लाका सबै स्थानीय तहहरु संचार नीति बनाउन प्रतिबद्ध रहेको जनाएका हुन् । उनले राज्यको चौथों अंगको रुपमा रहेको पत्रकारहरुको सवलीकरण र विकासका लागि स्थानीय तहहरु संचार नीति बनाएर पत्रकारिता क्षेत्रको विकासको लागि पर्ने बताए ।
‘पत्रकार र पत्रकारिता क्षेत्रको सबैले सहयोग गर्नुपर्छ, केही गरौं भन्ने उमेर र जवानी हुदाँ पत्रकारितामा होमिएका पत्रकारहरुलाई बढेसकालमा केही नपाउने अवस्था छ । अब हामीले त्यस्तो अवस्था हटाउने बृत्तिविकास र पत्रकारिता कोष स्थापना गरि सहयोग गर्ने वातावरण बनाउनुपर्छ ।–मेयर थपलियाले भने—‘स्थानीय तहको गतिविधीका राम्रा मात्रै होइन, बेतिथीको बारेमा पनि लेखिदिनुहोस्, त्यसले हामीलाई सच्चिन मौका हुन्छ ।’
पत्रकारिता क्षेत्रको बिकास र सबलीकरणमा स्थानीय तहले भरपूर सहयोग गर्ने उनको भनाइ थियो ।
कार्यक्रमका सहभागी जनप्रतिनिधीहरुले लोकतन्त्र स्थापनाका लागि समेत पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकास र सवलीकरणका लागि स्थानीय तह सहयोग गर्न तत्पर रहेको जनाएका थिए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सबै स्थानीय सरकारले स्थानीय संचारमाध्यमहरुको संरक्षणको लागि सहयोग गर्नुपर्ने बताए । उनले जिल्लाबाट प्रत्येक स्थानीय तहले प्रकाशन गर्नुपर्ने लोककल्याणकारी सूचना र विज्ञापन स्थानीय संचारमाध्यमबाट नै प्रकाशन र प्रशारण गरि पत्रकारहरुलाई बाँच्ने अवस्था बनाउनुपर्ने बताएका थिए । ‘पत्रकार र स्थानीय सरकारबीचको सहकार्यले मिडिया क्षेत्रलाई बलियो बनाउन सकिन्छ । ब्यावसायिक पत्रकारिताको विकासमा स्थानीय सरकारहरुले सहयोग गर्नुपर्छ । पत्रकारले त्यतिकै माग्दैन, लोककल्याणकारी सूचना र विज्ञापन दिएर मिडिया क्षेत्र जोगाउने काममा स्थानीय सरकार लाग्न अनुरोध छ ।’—अध्यक्ष खड्काले भने ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ्गले संकटमा रहेको मिडिया जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएको बताइन् । उनले पत्रकार बीमा र बृत्ति विकासको लागि सहयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष कृष्णराज शाक्यले वर्तमान अवस्थामा मिडियाको अवस्था, संकट, चुनौती र अव राज्यले गर्नुपर्ने मिडिया प्रतिको दायित्व, संचार नीतिमा नीतिगत समेटिनुपर्ने बिषयका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले कार्यक्रमको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ संखुवासभाले समन्वय गरेको उक्त कार्यक्रम गर्न कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ्गले कार्यक्रम संचालन गरेकी थिइन भने कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा संखुवासभाका १० वटा स्थानीय तहमध्ये धर्मदेवी र मादी नगरपालिकाको उपस्थित भएनन् ।