मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

अन्तर्वार्ता :
‘संखुवासभाको विकास र समृद्धिको लागि काम गरिरहेको छु—साँसद खड्का’

Sankhuwasabhapress 598+ समाचार ( )
२८ पौष २०८०, शनिबार

दिपक खड्काको जन्मथलो संखुवासभाको धर्मदेवी नगरपालिका आँखिभुई हो । नेपाली काँग्रेसको राजनीतिमा आवद्ध हुदैं खड्का यसअघि पनि तत्कालीन संखुवासभाको निर्वाचन क्षेत्र नं. २ तर्फबाट वि.सं. २०७० सालमा समेत उम्मेदवार भई निर्वाचीत बने । त्यसैबखत करिब ७ महिना खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत बन्न सफल भए । त्यसपछि ०७४ सालको निर्वाचनमा पराजित बनेका खड्का ०७९ साल मंसिरमा भएको आमनिर्वाचनमा प्रतिनिधीसभाको साँसदमा निर्वाचीत बनेका छन्। नेपाली काँग्रेस नेता तथा संघीय साँसद दिपक खड्कासँग यो साता संखुवासभा एक्सप्रेस साप्ताहिकका सम्पादक नवीन गुरुङले संखुवासभाको विकास निर्माण र समृद्धि लगायत विभित बिषय केन्द्रीत र बिषयान्तर गरेको कुराकानीको सार अंश :

१. माननीय ज्यूलाई कार्यक्रममा स्वागत छ ?

—धन्यवाद ।

२. जिल्ला आवातजावात त भइरहेको नै छ ? तर, अहिले के कार्यक्रमका लागि जिल्ला आउनुभयो ?

—संसद संचालनमा रहेको बेला अलि बढि काठमाडौंमा नै बस्नु पर्ने र अन्य समयमा जिल्लाको विकास निर्माण, प्रशासनिक कामहरु, जनताको कामको बिषयमा नै केन्द्रीत रहनुपर्ने भएकोले आवातजावात गरिरहेको हुन्छु । हिजो चुनावको समयमा प्रतिबद्धता जनाएका अनुसारका अधुरो र अपुरो रहेका कामहरु के कति भए भनेर अनुगमन गर्ने र के गर्न सकिने रहेछ भनेर पनि हेर्दैछु । 

३. संखुवासभाको मुख्य सडकको अवस्था दर्दनाक छ, त्यसमा खाँदबारी—किमाथांका सडकको बेहालत छ, काममा ढिलासुस्ती भइरहँदा तपाईको भूमिका चाँही कस्तो छ ?

—संखुवासभाको विकास निर्माण अन्तर्गत ठूला ठेकेदारहरुलाई काठमाडौंमै पनि मैले पटक–पटक छलफल गरेको छु । त्यसमा विशेषः गरि खाँदबारी–नुम सडकका ठेकेदारलाई जिल्ला प्रशासन कार्यालयमा सबै सरोकारवालाहरु राखेर पटक–पटक छलफल गरेको छु । मैले उनीहरुलाई कि काम गर, कि निकास देउ भनेको छु । ठेकेदार कम्पनीको भनाइ हामीले काम ग¥यौं अरुण तेस्रोको ठूला–ठूला गाडीले भत्काइदिने त्यो वापतको हामीले पैसा पनि नपाउने भएकोले समस्या भएको छ भनेर भन्छन । अव खाँदबारी–नुम सडकखण्डको काम अरुण तेस्रो आफैले सोही बजेटमा निर्माण गर्छ, केही प्रक्रिया मात्रै पुरा गर्न बाँकी छ । अहिले काम गरिरहेका ठेकेदार निर्माण कम्पनीले हात झिक्छ, त्यसपछि अरुण तेस्रो आफैले सडकको काम गर्छ । यस अरुण तेस्रो आफैले काम गर्ने सहमति भईसकेको छ । नुम देखि माथि किमाथांका सम्मको सडकको लागि अर्थमन्त्री ज्यूले भर्खरै मात्रै दुई अर्ब रुपैया बजेट बिनियोजन गरिदिनुभएको छ । अब लगातार काम भइरहेकै छ, शंखे र महभीरमा नेपाली सेनाले ट्रयाक ओपन गर्ने काम गरिरहेको छ । समयअवधी भित्रै काम सक्नुहोस् भनेर ताकेता गरिरहेका नै छौ । यसरी किमाथांका नाका जोड्ने गरि काम भइरहेको छ । केही समयअघि अरुण अरुण १०६३ मेगावाटको अनुगमन गर्न आउँदा अर्थमन्त्री प्रकाशशरण महत ज्यू, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत ज्यू लगायतलाई किमाथांका नाकाको महत्वको बारेमा मैले उहाँहरुलाई बुझाउने मौका पाए । त्यसलगतै काठमाडौं पुगेर दुई अर्व रुपैया बिनियोजन गरिदिनु भएको हो । विकासका आयाम र समृद्धि हासिल गर्नका लागि सबैभन्दा ठूलो महत्व चाँही कनेटिभिटी रहेछ भन्ने लाग्छ । ०७० सालमा म उम्मेदवार बन्दा पनि यही कनेटिभिटीलाई जोड दिएको थिए । त्यति बेला उम्मेदवार बन्दा हिडेर पुगेको ठाउँहरुमा अहिले सबैतिर गाडी पुगेको छ । सडक पुगेको छ । यसले मानिसहरुलाई आवातजावातमा सहज बनाएको छ । समृद्धि र विकास भन्ने कुराहरु यहि रहेछ भन्ने लाग्छ तर यतिले मात्रै पुग्दैन । अन्य पूर्वाधार विकास, खानेपानी, स्वास्थ्य शिक्षा लगायतको चीजहरुमा समेत काम हुनुपर्छ । त्यसपछि म फेरी ०७४ को आमनिर्वाचनमा उम्मेदवार भई पराजित भएपछि मैले शुरुवात गरेका सबै कामहरुमा सुस्तता आयो । मैले रिङरोडको अवधारणा सारेको थिए, त्यो पनि हटेर गयो यो ठूलो विडम्बना हो । फेरी म साँसद हुने बित्तिकै ति योजनाहरु पुनः फर्काएर शुरुवात गरेको छु, अहिले केवा–धर्मदेवी ११० किमि रिङरोड सडक कालोपत्रेको लागि बजेट बिनियोजन भईसकेको छ । चतरा–लेगुवा ८० करोड रुपैया बजेट बिनियोजन भई ठेक्का नै लागि सकेको छ । सबैले उठान गरिराखेको तर काम गर्न नसकेको पर्यटन, कृषि र ऊर्जाको प्रचुर संम्भावना रहेपनि काम नहुनु कनेटिभीटि नै हो भन्ने लागेर सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । 

४.सडक निर्माणमा निर्माण कम्पनीको लापरवाही र ढिलासुस्ती देखियो, यसमा नेपालको सार्वजनिक खरिद ऐन पनि समस्या बनेको हो ?

—विशेषः गरि ठूला योजनामा बजेट ल्याउन समस्या हुन्छ । केन्द्रमा लडेर बजेट आयो तर खाँदबारी–नुम सडकखण्डको ठेक्का पनि लाग्यो तर यसले समयमा काम गर्न सकिरहेको छैन् । म निर्वाचीत हुने बित्तिकै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बोलाएर निर्माण कम्पनीलाई समयमा नै काम गर्नोस् भनेर पटक–पटक निर्देशन दिर्दै, यदि तपाईहरु काम गर्न सक्नु हुन्न भने विकल्प खोज्ने भनेको छु । यसमा हाम्रो सार्वजनिक खरिद ऐन अनुसार जति कम रेटमा ठेक्का हाल्दा पनि हुने समस्याका कारण काम नभएको होकी भन्ने आवाज उठेको छ । संसदमा सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया अगाडी बढेको चाँडै नै संशोधन हुन्छ । 

५. तपाई संखुवासभाबाट दुई पटक निर्वाचीत साँसद बन्नुभयो, केही समय राज्यमन्त्री समेत बन्ने अवसर प्राप्त भयो तर नागरिकहरुले गरेको अपेक्षा अनुसार काम नै भएन भन्ने जनगुनासो छ नी ?

—म काम गरि नै रहेको छु । पछिल्लो समयमा साँसदमा निर्वाचीत बनेको एक बर्ष भयो, त्यसमा करिब ५÷६ महिना मात्रै काम हुदैंछ । यो बीचमा अगाडी गुमेका योजनाहरु फर्काएर ल्याएर काम गदैछु । केही टेन्डर प्रक्रियामा गईसकेका छन, कुनै योजना अगाडी बढेको छ त्यसैले काम नभएको भन्ने लाग्दैन् । मुलुक भूकम्प र विश्वभर फैलिएको कोरोनाका कारण अर्थतन्त्र थलियो । वैदेशिक सहयोग पनि प्राप्त नहुने र मुलुकभित्र पनि आन्तरिक राजश्व बढाउन नसकेको अवस्था हो । ब्यापारब्यापार ठप्प भएपछि त्यसको असर अझैसम्म देखिएको छ । यस्तो अवस्थामा अन्य जिल्लाको तुलनामा संखुवासभामा बजेट प्राप्त भएकै छ । साँसदले मात्रै केही गर्न सक्दैन, नागरिक तहबाट सबै सचेत हुनुपर्छ । आफ्नो घरआँगनको योजनाहरु अझै सचेत भएर काममा लाग्नुपर्छ । नागरिकस्तर देखि योजनाहरुको अनुगमन हुनुपर्छ । सबै लागे मात्रै विकास र समृद्ध संखुवासभा बनाउन सकिन्छ।

६. नेपालमा निर्वाचीत जनप्रतिनिधी भन्दा पनि कर्मचारीतन्त्र हावी छ भनिन्छ ? के कर्मचारीतन्त्रकै कारण काम नभएको हो त ?

—नेपालमा कर्मचारीतन्त्रको हावी रहेछ भन्ने मैले आफैले भोगे । वन मन्त्रालयमा मेरै फायल चार बर्षदेखि रोकिएपछि आफैले भाग्नुप¥र्यो । सचिव देखि मन्त्रीसम्म सबैलाई राखेर निकास लिनुप¥यो । म निर्वाचीत सत्तापक्षको साँसदको हविगत यस्तो छ, सामान्य नागरिकको काम कसरी हुन्छ भन्ने लाग्छ । कर्मचारीहरु पियन देखि खरिदार, सुब्बा, अधिकृत, महानिर्देशक हुर्दै सचिव सम्म काम प्रक्रियागत रुपमा अगाडी बढ्छ । कतिपय कामहरु मन्त्री सम्म आई नै पुग्दैनन्, सबै गर्ने कर्मचारीले हो । मन्त्रीले निर्देशन दिने मात्रै हो । यहाँ यस्तो छ मन्त्रीले सचिवसँग काम भएन गुनासो गर्ने, यतिसम्म कि प्रधानमन्त्री ज्यूले मुख्यसचिवसँग काम भएन भनेर गुनासो गरेको मेरो आँखाले देखेको छु । कर्मचारीलाई किन तपाईहरु छिटो छरितो र सजिलोसँग काम गर्नुहुन्न भन्यो भने भोली अख्तियार धाउनुपर्छ भन्नुहुन्छ । मुलुकमा लगानी सिर्जना गर्नुप¥यो, बाहिरबाट लगानी भित्राउनुप¥र्यो मुलुकको राजश्व बढाउनुप-यो । नत्र कसरी मुलुक विकसित हुन्छ । सबै कर्मचारीहरु खराव पनि छैनन्, केही राम्रा ब्यक्तिहरु छन् । मेरो धारणा चाँही के छ भने कर्मचारीहरु ५ बर्षका लागि करारमा राखौं, उहाँहरुको काम राम्रो भए म्याद थप गरौं, नभए योग्यता र क्षमता भएका अर्को राम्रो कर्मचारी आउनुहुन्छ । यसले राज्यको आर्थिक भार समेत धेरै जोगिन्छ । नीति नबनाई यो मुलुक बन्दैन् । 

७. पछिल्लो समयमा दैनिक युवायुवतीहरु विदेशीने क्रम जारी छ, देशका नेताहरु ललिता निवास, भुटानी शरणार्थी काण्ड देखि हरेक हिसाबले भष्टचारमा संलग्न छ, यसले आममानिसको राजनीति प्रति वितृष्ण बढेको छ ?

—जो कोहीले पनि राज्यलाई आम्दानीको स्रोत बनाउनु हुदैन । काम गरेर खानु पर्छ । राजनीति सेवा गर्ने माध्यम हो । अहिलेको तलब सुविधाले पुगेन भने संशोधन गरौं तर राज्यलाई अवैध बाटोबाट आम्दानीको स्रोत बनाउनु गलत हो । केही नेताहरु गलत पनि छन्, कारागार सम्म पुगेका छन् । तर, अहिले ९० प्रतिशत कर्मचारीका छोराछोरीहरु सुविधासम्पन्न मुलुकमा ब्याबसाय गरिरहनु भएको छ । त्यो हैसियत र काँहाको पैसाले गर्नुहुन्छ भन्ने लाग्छ, यो गम्भीर बिषय र सोचनीय बिषय छ । तपाईहरु खोज पत्रकारिता गर्ने मिडियाहरुलाई खोतल्नुप¥र्यो भन्ने लाग्छ ।

यो मुलुक कोही आएर बनाई दिदैन, हामीले नै बनाउने हो, यही पुस्ताले नै हो । त्यसैले राम्रो काम गरौं कर्मचारीहरुलाई भनेको हुँ । अहिले दायित्वको हिसाबले कोही कर्मचारी होला, नेता होला, कोही पत्रकार होला, साधारण नागरिक होला तर देशको मायाँ सबैले गर्नुपर्छ । मुलुक नै ध्वस्त बनाएर, आफुले मात्रै कमाएर केही हुदैन् । एकदिन त मान्छे त मर्ने नै हो, मर्दा लाशमा कसैले हाली दिदैन । त्यसैले यो बिषयमा गम्भीर भएर सोचौं ।

८. पूरानो विरासत बोकेका राजनैतिक दल प्रति आममानिसहरुको वितृष्णा बढिरहँदा नयाँ आएका राजनैतिक दल पनि उस्तैउस्तै देखियो । अव तपाईहरुको राजनीति कसरी अगाडी बढ्छ ?

—पूरानो राजनैतिक दलका कारणले पो मुलुकले मुहार फेर्न नसकेको हो की भन्ने लाग्थ्यौं तर अहिले आएका नयाँ दलहरुको पनि ढर्रा उस्तै देखिन थालेको छ । यि सबै स्टन्टवाजी रहेछन् भन्ने देखिन्छ । बरु पुरानो पार्टी जिम्मेवार र देशको मायाँ गर्ने, मुलुक बनाउन लागेको भन्ने मलाई अनुभूत हुन्छ । हामीहरुले पञ्चायत फाल्यौं, एकात्मक राज्यसत्ता फाल्यौं, केही परिवर्तन भएन भन्ने होइन भएका छन् । यो संसदीय ब्यबस्था सबैभन्दा ठिक ब्यबस्था हो । केही नेताहरुमा ब्यक्तिगत कमीकमजोरी रहे होलान्, त्यो सबैले स्वीकार्नुपर्छ तर ब्यबस्था ठिक छैन्, सबै नेता बिग्रिए भन्नु गलत हो । केही हुनसक्छ । त्यसैले पूराना पार्टीहरुले आफुलाई समय अनुसार परिवर्तन गर्दै लगेर आमनागरिकको लागि काम गर्नुपर्छ । मुलुक प्रति सबै बफादार भएर लाग्ने हो भने मुलुक आफै बन्छ तर पहिले आफू राम्रो हुन जरुरी छ । 

९. के अहिलेको लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्था नै असफलता तर्फ धकेलिएको हो ?

–मलाई चाँही यो लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्था नै असफलता तर्फ गयो भन्ने चाँही लाग्दैन । यो ब्यवस्था त ठिक छ तर यो प्रदेश तहका कारण खर्च धेरै भएकाले राज्यले धान्न नसक्ने होकी भन्ने चाँही लागेको छ । हामीसँग आउने निश्चित आन्तरिक स्रोत राजश्व त्यही प्रदेश र संघमा बाँडिएर जाने हो । बरु मलाई जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउन सके हुन्थ्यो की भन्ने चाँही लाग्छ । यो मैले संसदमा समेत कुरा उठाएको छु । संघीयता खारेज गरौं भनेको होइन, केही–केही नमिलेका कुराहरु मिलाएर जाऔं चाँही भन्ने गरेको छु । 

१०. संखुवासभालाई विकसित र समृद्ध बनाउन अव के गर्नुपर्ला ?

—कनेटिभिटी भनेको पूर्वाधार विकास सडक, पुल लगायतको विकास हुनुपर्छ । देशको नै ठूलो अरुण तेस्रो प्रोजेक्ट हाम्रै जिल्लामा निर्माणाधीन अवस्थामा छ, यसले जिल्लालाई समृद्धि तर्फ डो¥याउँछ । अरुणनदिमा मात्रै ५ हजार मेगावाट विद्युत्त उत्पादन गर्न सकिन्छ भनिएको छ । त्यो भयो भने त्यतिकै जिल्ला कायापलट हुन्छ । नेपालबाट १० हजार मेवागाट विद्युत्त भारतलाई बेच्नुपर्छ । आवश्यकता प¥यो भने चीनले पनि नेपालबाट खरिद गर्न सक्छ । पर्यटनको हिसाबले मकालु हिमाल आरोहण लगायतको थुप्रै संम्भावनाहरु छ । किमाथांका नाका खुलेपछि बार्षिक ५ लाख पर्यटकहरुको आवातजावात हुनसक्छ । त्यति भएपछि रोजगारी र ब्यापार सिर्जना हुन्छ । तीनै तहका सरकारले स्थानीयलाई कृषि क्षेत्रलाई अघि बढाउर्दै साना तथा मझौला हाते उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र खानेपानी लगायतको विभित क्षेत्रको विकास गर्दै आम्दानीको स्रोत पहिचान गरि अघि बढनुपर्छ । यहि जिल्लामा योगमायाँ आयुर्वेदिक विश्वविद्यालय बन्दैछ । यसको काम अगाडी बढाउन लागि रहेको छु । हामीसँग पर्याप्त स्रोत छ तर यसको सहि पहिचान भई कार्यन्वयन हुन सकिरहेको छैन, कार्यन्वयन हुनुपर्छ । 

११. तपाईले काँग्रेसको जिल्ला सभापति पदबाट किन राजिनामा दिनुभयो ?

—म नेपाली काँग्रेस संखुवासभाको निर्वाचीत जिल्ला सभापति हुँ । म प्रतिनिधीसभाको साँसदमा निर्वाचीत भएपछि अलि बढि काठमाडौं बस्नुपर्ने र संसदमा ब्यस्त हुने भएकाले कार्यबहाकको जिम्मेवारी दिए । तर सधैं यसरी नचल्ने भएपछि ‘एक ब्यक्ति, एक पद’ गरौं भनेर राजिनामा दिएको हुँ । यसले जिल्लाको संगठन पनि बढाउँछ र नयाँ अर्को साथीले जिम्मेवारी पनि प्राप्त गर्नुहुन्छ भनेर राजिनामा दिएको हुँ । हामी जति सक्दो धेरै पद लिने पदका लोभी छौ यसमा नयाँ उदाहरण होस भनेर पनि राजिनामा दिएको हुँ । यसले काँग्रेसमा नयाँ सिकाई पनि हुन्छ भन्ने लाग्छ ।

१२. कार्यक्रमको अन्त्यमा के भन्न चाहानुहुन्छ ?

—कार्यक्रममा बोलाएर आफ्नो केही कुराहरु भन्ने मौदा दिनुभयो यसको लागि धेरै–धेरै धन्यवाद । संखुवासभा जिल्ला समृद्ध हुदाँ मुलुक समृद्ध हुन्छ । मुलुक समृद्ध भए हामी सबै समृद्ध हुन्छौं । हामीले आ–आफनो ठाउँमा काम गरौं, आफ्नो दायित्व सबैले पुरा गरौं भन्ने सबै जिल्लावासीहरुमा आग्रह गर्न चाहान्छु । धन्यवाद

भिडियो लिंक : https://www.youtube.com/watch?v=GNdsv8K4zM8


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार