- सन्तोष योन्जन तामाङ
भौतिक सुविधामा त सीमित थियो, तर प्राकृतिक सुन्दरताले सजिएको मेरो सानो गाउँ आँगनैबाट बग्ने त्यो हेवा खोला र त्यही गाउँको एउटा झुपडीबाट मेरो बाल्यकाल सुरू भएको थियो । मेरो बुवाामाले सधैं सन्तानको उज्जवल भविष्यको सपना देख्थे । पढ्नका लागि हरेक दिन दुई घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता थियो । विविध कारणले गर्दा म १७ वर्षको उमेरमै घर छोड्न बाध्य भए । त्यसपछि पढाई पनि छाडे । यद्यपि विद्यालय छोडेपछि पनि मैले जीवनबाट थुप्रै कुराहरु सिकें ।
हाम्रो घरको अवस्था दयनीय थियो । गरिबीले परिवारलाई निरन्तर दबायो, तर माया ममतामा भने कहिल्यै कमी आएन । बाबुआमाको कर्तव्यपरायणता र समर्पणले हामीलाई बाँधेर राख्यो । सायद यही आत्मीयताको प्रभावले दैव पनि झस्कियो— हाम्रो जेठी दिदीलाई केवल २३ वर्षको उमेरमै हामीले गुमाउनुपर्यो । त्यो घाटाले परिवारको मनमा गहिरो पीडा र खालीपन छाड्यो । यस्ता चोटपटकहरूका बाबजुदमा पनि हामी अघि बढ्यौँ ।
बढ्दै जाँदा मैले समाजमा विद्यमान अन्याय र असमानता नजिकबाट देखें । गरिब जनताको भोक, दमन र सामन्ती–पूँजीवादी शासनले जनतामा पुर्याएको बेथिति मेरो मनमा अमिट प्रभाव छोड्यो । यी अनुभवले मेरो विचारलाई रूपान्तरित गर्यो— गरिब जनताको उद्धारका लागि आवाज उठाउनु आवश्यक छ भन्ने बोध भयो । घरको आर्थिक अभाव र सामाजिक अन्यायले मेरो चेतनामा क्रान्तिकारी विचारको बीउ रोप्यो । हामीले सुनेका कथाहरू, शहिदका सपनाहरू, विधवाहरूको पीडा, त्यागिएका मृत्युपछि बचेका परिवारहरूको वेदना— यी सबैले मेरो संवेदना उजागर गरे र क्रान्तिको बाटोमा पाइला चाल्न प्रेरित गर्यो । त्यो बाटो सजिलो थिएन, बलिदान, विछोड र धोका थुप्रै थिए । तर पीडितहरूको आवाज बुलन्द गर्न र शोषणविरुद्ध उभिनु मेरो दायित्व ठानेँ ।
अभावले मलाई त्यो मार्गमा डोर्यायो— अभावको भुमरीबाट, नाङ्गो पेटबाट जन्मिएको क्रान्तिकारी भावनाले मलाई सक्रिय बनायो । मैले बुझें कि किन जनताहरू गरिब छन् र किन सम्पत्ति केही थोरैको हातमा सिमित छ । कहिलेकाहीँ क्रान्तिको नाममा उत्साहीहरूलाई विदेशीय स्वार्थले प्रयोग गरेको, नेताहरूले जनताको भरोसा सम्झौतामा बेचिदिएको दृश्यले पनि मलाई धक्का दियो । यस्ता धोका र विकृति भए तापनि मेरो उद्देश्य अपरिवर्तित रह्यो । गरिब जनताको मुक्ति र देशको न्यायपूर्ण रूपान्तरणमा अघि बढ्नुपर्ने ठाने ।
म विश्वस्त छु—मैले गरेको हरेक संघर्ष स्वार्थपरक छैन, यो देश र जनताको भलोका लागि हो । यदि देशको हितका लागि रगत बगाउनु परे पनि, गरिब जनता र राष्ट्रिय स्वाभिमानको अगाडि मैले आफ्नो जीवन समर्पित गर्न तयार छु । यही दृढ संकल्प लिएर म क्रान्तिको मार्गमा अघि बढिरहने छु र गरिब जनताको अग्रीम मोर्चा सम्हाल्ने छु ।
-संखुवासभा, चैनपुर