संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्गमा रहेको नवनिर्मित पांमा स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण आयोजना अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले भवन निर्माण सम्पन्न भएपछि विहिबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकालाई हस्तान्तरण गरेको हो । आयोजनाले स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएपछि खाँदबारी नगरपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । उनले सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा र निर्माण कम्पनी दुवैलाई समयभित्र नै काम सम्पन्न गरि हस्तान्तरण गरेको भन्दै धन्यवाद दिए ।
कार्यक्रममा खाँदबारी नपाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकमणी घिमिरे, खाँदबारी ३ नम्बरका कार्यबहाक वडाध्यक्ष बिष्णु गुरुङ, निर्माण ब्याबसायी मिगूर शेर्पा र शहरी कार्यालयका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
उक्त भवन साढे दुई तले रहेको छ । आधुनिक सेवा सुविधा सहित भवन जडान गरिएको छ । कुल ३ करोड ७३ लाख ५१ हजार २८९ रुपैयाको भ्याट सहितको लागतमा भवन निर्माण सम्पन्न भएको हो । गत ०७९ भदौ ३० गते सम्झौता भई ०८० मंसिर ३० गते भित्र निर्माण सम्पन्न गर्ने संम्झौता रहेको थियो ।
समयसिमा भित्र नै काम सम्पन्न भएपनि हस्तान्तरण गर्न केही ढिलाई भएको हो । भवन निर्माणको जिम्मा अरुणबरुण निर्माण सेवा कम्पनीले काम गरेको हो । अरुणबरुण निर्माण कम्पनीले जिल्लाका धेरै वटा भवन निर्माण लगायत ठेक्का लिएको काम समयअवधी भन्दा अगाडी नै सकेर बोनस समेत लिने गरेको कम्पनीका प्रोपाइटर मिगूर शेर्पाले बताए । सो कम्पनीले यसअघि खाँदबारीको भेटरीनरि अस्पताल तथा विज्ञ सेवा केन्द्र, खाँदबारीकै कोष तथा नियन्त्रक कार्यालयको भवन, खाँदबारी–९ तुम्लिङटारको स्वास्थ्य चौकी भवन लगायत दर्जनको हाराहारीमा समयअघि नै निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसकेका छन् ।
उक्त पांमा स्वास्थ्य चौकी जीर्ण भएपछि समस्या भएको थियो । धेरै बर्ष जीर्ण स्वास्थ्य चौकीबाट सेवा प्रवाह भईरहेको थियो । सो पांमा स्वास्थ्य चौकीमा खाँदबारी नगरपालिका भित्रका ३, २, ४ र ५ नम्बरका सेवाग्राहीहरुको भीड लाग्ने गर्दछ ।