संखुवासभा । युडब्लुएस नेपाल र संखुवासभा जिल्लाका स्थानीय तह तथा विद्यालयका सरोकारवालाहरु बीच अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार सदरमुकाम खाँदबारीमा सरोकारवाला बीच अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरेको हो । युडब्लुएस नेपालले बर्सेनि सदरमुकाम खाँदबारीमा सरोकारवालाहरुलाई भेला गरि संस्थाले गरिरहेको कामको प्रगति र अवस्थाका बारेमा जानकारी दिने गर्दछ ।
युडब्लुएस नेपालका अध्यक्ष खेमराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङ रहेका थिए । विशिष्ट अतिथि भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामा, खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, पाँचखपन नगरपालिकाका सुमुना श्रेष्ठ, सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाई, मकालु गाउँपालिकाका उपाध्यक्ष मनकला राई, वडाध्यक्षहरु, खाँदबारीका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाई, चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, सभापोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्य, पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले युडब्लुएस नेपालले संखुवासभाको शैक्षिक विकासमा निकै ठूलो योगदान पुर्याएको भन्र्दै धन्यवाद दिए ।

कार्यक्रममा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामा, सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाई, मकालु गाउँपालिका ३ नम्बर वडाका शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाका कर्मचारी एकराज मगरले आआफनो धारणा राखेका थिए । त्यसैगरि रामेश्वर विद्यालय युडब्लुएस आमा समुहका सुमित्रा ढुङगाना, प्रधानाध्यापक सन्तोष तामाङ, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्बरबहादुर भुजेल लगायतले आआफनो सुझाव तथा धारणा राखेका थिए ।
कार्यक्रममा युडब्लुएस नेपालका कन्ट्री डाइरेक्टर अविनाश झाले संस्थाले गरिरहेको कामहरुको बारेमा प्रगति विवरण लगायतको प्रस्तुतीकरण गरेका थिए । हाल संस्थाले संखुवासभा लगायतका ६ वटा जिल्लाका ३ सय ५० वटा विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिका लागि काम गरिरहेको जनाएको छ ।
उक्त अन्तरक्र्रिया भेलाले ६ वटा बुदाँमा निर्णय समेत गरेको थियो । जसमा आगामी दिन देखि संस्थाले स्थानीय सरकारसँग समन्वय गरि नीति कार्यक्रममा योजना समावेश गर्ने, कार्यक्रमको बारेमा सबैलाई जानकारी दिने लगायतको निर्णय गरेको थियो ।

संखुवासभा जिल्लाबाट शुरु भएको कार्यक्रम हाल गुल्मी, भोजपुर, ताप्लेजुङ्ग, तनहुँ र हुम्लामा समेत विस्तार भएको छ । सन् २०३० सम्म संस्थाले काम गर्ने योजना रहेको बताइएको छ ।
२०७२ साल देखि शुरु भएको युडब्लुएस नेपालको कार्यक्रमबाट संखुवासभाको ९ वटा स्थानीय तहमा काम गरिरहेको छ । संखुवासभामा ४९ वटा विद्यालय निर्माण गरेर हाल १६ वटा विद्यालय समुदायमा हस्तान्तरण गरिसकेको छ भने अहिले ३३ वटा विद्यालयमा कार्यक्रम संचालन भइरहेको छ । युडब्लुएस नेपालले स्थानीय सरकारसँग साझेदारीमा कार्यक्रम सम्झौता गरि पाँच बर्ष संचालन गर्ने गर्दछ । पाँच बर्ष पछि उक्त विद्यालय समुदायलाई हस्तान्तरण गर्ने गर्दछ ।
