संखुवासभा। चिचिला गाउँपालिका ४ भुङ्गुमा टोलका ३५ बर्षीय एकल महिला चन्द्र कुमारी राईको उपचारको लागि आर्थिक अभाव भएको छ ।
परिवारको सदस्यको रुपमा ७ बर्षका एक छोरी मात्र रहेको राईको फोक्सोमा पानी जमेपछि उपचार गर्न आर्थिक अभाव भएको हो । सुरुमा समस्या देखिएपछि खाँदबारी अस्पतालमा उपचार गराउन आउनु भएको थियो । उपचार गर्न जटिल भएको भन्दै खाँदबारी अस्पतालले ठुलो अस्पतालमा रेफर गरेपछि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प)मा लगिएको थियो ।
अहिले घोपा क्याम्पमा उहाँको उपचार भईरहेको उपचारमा सहयोग गरिरहेका स्थानीय छिमेकी राजमान राईले जानकारी दिनुभयो । उहाँसँग भएको सिमित खर्च सकिएकोले सहयोगको अनुरोध गरिएको राईले जानकारी दिनुभयो ।
बिरामी राईको उपचारमा सहयोग गर्न चिचिला गाउँपालका वडा नम्बर ४ ले पनि अपिल गरेको छ । बिरामी राई निम्न बर्गको रहेको र एकल समेत रहेकोले आर्थिक स्थिति कमजोर रहेको वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो । अचानक बिरामी भएका राईको उपचारको लागि सहयोग गर्न वडा अध्यक्ष राईले अनुरोध गर्नुभयो ।
हाल आफ्नै अगुवाईमा आर्थिक सहयोग सङ्कलन सुरु भईसकेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । सङ्कलित रकम केहि दिन भित्र नै पठाईने उहाँको भनाई छ । बिरामी राईलाई गाउँपालिकाले पनि सहयोग गर्ने गर्ने भए पनि उक्त रकम पर्याप्त नभएकोले आफ्नै नेतृत्वमा सहयोग संकलन सुरु गरेको उहाँले बताउनुभयो ।
बिरामी राईको श्रीमानको एक बर्ष अघि मृत्यू भएको थियो । राईको सासुससुरा यस अघि नै बितिसकेका छन् ।