संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी—किमाथांका सडकखण्ड अन्तर्गत उत्तरदक्षिण कोशी राजमार्ग अझै खुलेको छैन ।
शनिबार मकालु गाउँपालिका–३ हेदाङ्नाको नयाँबस्तीमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शनिबार देखि नै सुक्खा पहिरो हटाउन शुरुवात गरिएको भएपनि हटाइ नसकेको उत्तरदक्षिण कोशी सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर नरेश जिरेलले जानकारी दिए ।
उनको अनुसार, निर्माण कम्पनी अरुणवरुण निर्माण सेवा र जेएण्ड डब्लु जेभीले फयाक्सिन्दा पुल र माथि नयाँबस्ती तलमाथि दुवै तिरबाट दुई वटा स्काभेटरले पहिरो हटाउने काम गरिरहेको छ । सडक माथिबाट ठूलो पहिरो खसेकाले एकातर्फी समेत सडक खुलाउन सकिएको छैन् । आज बेलुकी सम्म पहिरो हटाई सक्ने अनुमान गरिएको इन्जिनियर जिरेलको भनाइ छ ।
पहिरोको कारण सडक अवरुद्ध भएपछि खाँदबारी र भोटखोलाको आवातजावात बन्द भएको छ । खाँदबारीबाट किमाथांका भोटखोला जाने र भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने गाडी र यात्रु समस्यामा परेका छन् । शनिबार विहान ८ बजे सडक माथिबाट सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुनाका साथै स्काभेटरका सहचालक रामेछाप जिल्लाका सविन केसी घाइते भएका थिए ।
खाँदबारी—गोला सडकखण्ड अन्तर्गत सो क्षेत्र निकै अप्ठयारो र संवेदनशील क्षेत्र हो । सो क्षेत्रमा सडक स्तरोन्नती र सडक ढलान गर्ने काम अरुणवरुण निर्माण सेवा र जेएण्ड डब्लु जेभीले गरिरहेको छ । उक्त नयाँबस्ती क्षेत्रमा लगातार सुख्खा पहिरो खसिरहने भएका कारण वेला–वेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।