संखुवासभा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको अगुवाईमा सरसफाई अभियान संचालन गरिएको छ ।
आइतबार विहान जिल्लाको सदरमुकाम खाँदबारीको बसपार्क क्षेत्रमा दिनानुदिन फोहोर मैला बढ्न थालेपछि पत्रकार महासंघको अगुवाईमा सरसफाई अभियान संचालन गरिएको हो । ‘वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जीवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी’ भन्ने मुलनाराका साथ पत्रकार महासंघ संखुवासभाले सामुहिक सरसफाई अभियान संचालन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले यो अभियानले फोहोर मैला ब्यवस्थापनका लागि जनचेतना फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउर्दै यसको दिगो समाधानका लागि खाँदबारी नगरपालिकाले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको धारणा राखेका थिए । उनले यो अभियान साँकेतिक भएको र आमनागरिकहरुले आफ्नो घरआँगन सफा राख्नुपर्ने बताए ।
फोहोर मैलाले वातावरणलाई नराम्रोसँग असर पारिरहेको र त्यसको प्रत्यक्ष असर हामी मानवहरुमा समेत परिरहेको जिसस प्रमुखको भनाइ थियो ।
खाँदबारी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष निरञ्जन श्रेष्ठले फोहोर ब्यवस्थापनका लागि पत्रकार महासंघले सुरु गरेको अभियानको दिगोपनाका लागि वडाको तर्फबाट सकेको सहयोग उपलब्ध गराइने प्रतिवद्धता जनाए । उनले वातावरण सफा राख्न आमनागरिकहरुले आफ्नो जिम्मेवारी महसुस गरिदिए वातावरण आफै सफा हुने धारणा राखे ।

पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्यले सरसफाई अभियानलाई निरन्तरता दिन र सहकार्य गर्न सरोकारवाला सबैमा हातेमालो आवश्यक रहेको बताए । उनले आगामी दिनमा समेत अभियानले निरन्तरता पाउने बताए ।
खाँदबारी–१ स्थित बसपार्क क्षेत्रमा अत्याधिक फोहोर मैला बढेका कारण जिल्लाको सदरमुकामको मुख्य बजार नै दुर्घन्धित हुन थालेको हो । आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुहरु खाँदबारी प्रवेश गर्ने बस पार्क क्षेत्रमा अब्यबस्थित र फोहोरमैलाका कारण खाँदबारीको बारेमा नराम्रो सन्देश जाने भएकाले मुख्य प्रवेशद्धार नै स्वच्छ र सफा बनाउने उद्धेश्यले सरसफाई अभियान संचालन गरिएको महासंघको भनाइ छ । दिनहुँ दर्जनौ सवारी साधानहरु आवातजावात गर्दा बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघको आयोजना तथा खाँदबारी युथ क्लव, समृद्ध बहुउद्धेशीय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासँगको सहआयोजनामा सरसफाई अभियान संचालन गरेको हो । सरसफाई अभियानमा जिल्ला समन्वय समिति संखुवासभा, खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको नयाँ भैरवी गुल्म खाँदबारी, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, यातायात ब्यवसायी, नेपाल टेलिकम कार्यालय र उद्यमी ब्याबसायी लगायतको सहभागीता रहेको थियो ।

उक्त सरसफाई अभियानमा करिव डेढ सय जनाको सहभागिता रहेको थियो । अभियानमा बसपार्क क्षेत्रमा रहेको अब्यवस्थित फोहोर मैला, प्लाष्टिकका बोतल, फुटेका सिसी लगायतका विभिन्न कुहिने तथा नकुहिने फोहोर मैला दुई ट्याक्टर संकलन गरिएको थियो । उक्त क्षेत्रलाई ब्यबस्थित बनाउन ठाउँ–ठाउँमा सिसि क्यामेरा र डस्बिनहरु राख्नका लागि खाँदबारी नगरपालिका र वडा कार्यालयसँग समन्वय भईरहेको महासंघको भनाइ छ ।

पत्रकार महासङलाई सल्यूट , यो अगुवाई गरेकोमा । मेरो बुझाइमा प्रत्येक टोललाई सक्रिय र कृयासिल बनाउन के ले छेकेको छ? टोल सग न पा ,वाडाहरु किन डराउनु ? प्रत्येक टोल अपडेट हुने हो भने २४ घण्टा भित्र नगरको मुहार फेरिने कुरामा दुइमत नहोला । कुनै तथ्यांक लिनु पर्यो भने ६ महिना लगाएर जागिर खुवाउने जस्तो मात्र देखिन्छ ।त्यो तथ्यांक मिथ्या हुन्छ । तर टोलको बैठक बसेर प्रत्येकको डेटा अपडेट गराउने हो भने सहि हुन्छ ।कति पनि समय लाग्दैन । कुनै अधिकार नदिएर नुन बाड्ने मात्र बनाउनुमा डरले थररर र र कामेको जस्तो भएन र ? Every day change is possible if you have strong willing power .