संखुवासभा । उपन्यासकार राजकुमार राईको नयाँ कृति उपन्यास ‘किवाहाङ’ माथि चर्चा परिचर्चा गरिएको छ ।
शनिबार संखुवासभाको सदरमुकाम खाँदबारीमा ‘किवाहाङ’ कृति माथि परिचर्चा गरिएको हो । संखुवासभाको खाँदबारी नगरपालिका–११ जन्मथलो रहेका उपन्यासकार राई लामो समयदेखि प्रवास हङकङलाई कर्मथलो बनाउदै आएका छन् । राईको नयाँ कृति ‘किवाहाङ’ बजार आएपछि चर्चा परिचर्चा चुलिएको छ । गत असारको अन्तिमतिर विमोचित उपन्यास ‘किवाहाङ’लाई पाठकहरूले निकै रुचाउन थालेपछि ठाउँ–ठाउँमा परिचर्चा कार्यक्रम हुदैं आएको छ ।
यस उपन्यासका बारेमा साहित्यकारहरू ताराबहादुर बुढाथोकी र भरत कुलुङले समिक्षा गरेका थिए भने त्यसैगरि बरिष्ठ अग्रज पत्रकार जीवनाथ खनालले पनि उपन्यासका बारेमा समिक्षा सहित चर्चा गरेका थिए । उनीहरुले पुस्तकको लेखन ज्यादै सरल र जो कोही सजिलै बुझ्न सकिने खालको भाषा, लेखनशैली भएको बताए । त्यसका साथै उनीहरुले एउटा नेपाली युवाले लाहुरे जाँदा र त्यहाँ लाहुरे भएपछिका युद्ध र संघर्षका २८ बर्षे जिन्दगानीको कथाहरु समेटिएको बताए । गोर्खा र गोराहरु बीचको सैनिकमा हुने विभेद, दोस्रो विश्वयुद्धलगत्तै पूर्वी नेपालको संखुवासभादेखि हङकङ, मलेसिया, सिङ्गापुर, ब्रुनाई र युकेसम्म ब्रिटिस गोर्खाहरूले भोगेका कथाहरू सिलसिलेवार ढंगले लेखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले ‘किवाहाङ’ पुस्तक निकै राम्रो र पठनयोग्य रहेको बताउदै उपन्यासकारको कलमलाई निरन्तरता दिन आग्रह गरे । उनले आफ्नो जीवनमा साहित्यमा प्रति रुचि भएपनि निरन्तरता दिन नसकेको बताए ।
खाँदबारी नगरपालिकाभित्रका साहित्य अनुरागीहरुलाई भेला गराई विभिन्न खालका प्रतियोगितात्मक आयोजना गरि साहित्य, भाषा, संस्कृतिको संरक्षणका लागि पनि नगरपालिका सधै लागि पर्ने मेयर थपलियाको भनाइ थियो ।
कार्यक्रममा उपन्यासकार राजकुमार राईले आफूले ‘किवाहाङ’उपन्यास लेख्नुका कारणहरूबारे प्रस्ट्याएका थिए । १२०० पेजको उपन्यास तयार भएको थियो त्यसलाई काँटछाँट गरेर ३२४ पेजको बनाइएको उपन्यासकार राई जानकारी दिए । यो उपन्यास काल्पनिक नभएर यर्थाथ ब्यक्तिहरुको कथालाई जस्ताको तस्तै टिपेर पुस्तक तयार भएको राईको भनाइ थियो । ‘गोर्खाहरूको इतिहास सही तरिकाले लेखिएको छैन । सम्बन्धित गोर्खाहरूले भन्दै आएका तथ्य र लिखित इतिहासमा समानता छैन । मैले उपन्यासमा गोर्खाहरूको सत्य कुराहरूलाई समावेश गराउने प्रयत्न गरेको छु । आगामी उपन्यासमा पनि सही कुराहरूका बारेमा कलम चलाउने छु ।’—उपन्यासकार राईले भने ।
कार्यक्रममा उपन्यासकार राजकुमार राईलाई खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता इन्द्र गिरीले गरेका थिए भने पत्रकार नवीन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
तलको भिडियो लिंक पनि खोलेर हेर्नुहोस्.....
https://www.youtube.com/watch?v=kh0Y8BL8WFo